
बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भ्रमण रद्द गरिएको छ ।
वैदेशिक भ्रमणका लागि भिसा लागिसकेका अवस्थामा प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भीसा लागि सकेर पनि उडानका लागि काठमाण्डु आइसकेको अवस्थामा मेयरको गैरकानूनी क्रियाकलापमा मात्र उत्तरदायी भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रमण रद्द गरेको छ ।

संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको चार दिने कार्यक्रमका लागि विदेश जान लागेकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रीस्तरीय निर्णय गर्दै भ्रमण रद्द गरेका देखिन्छ । सो विषय हेर्ने मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुख समेत रहेका सहसचिव उमेशकुमार ढकालसँग यस निर्णयबारे बुझ्न खोज्दा प्रवक्तासँग बुझ्न आग्रह गरे ।
मन्त्रालयको योजना तथा विकास समन्वय महाशाखा प्रमुख समेत रहेका प्रवक्ता सहसचिव कालिप्रसाद पराजुलीले मन्त्रालयको अर्को महाशाखा अन्तर्गतको निर्णय भएकाले यस बिषयमा बुझ्ेर मात्रै भन्न मिल्ने बताए । यूएसएडको कार्यक्रममा भाग लिन १२ जना अमेरिकातर्फ जाने कार्यक्रम रहेकोमा दुई जनाको भीसा आएको थिएन । भीसा आएको प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण भने रद्द भएको छ ।
उनको भ्रमण नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा निर्वाचित राजन पौडेलसँग नजिक भएका कारण बुझिएको छ । पछिल्लो समय जितपुर सिमरामा मेयर र अन्य जनप्रतिनिधिबीच विवाद छ । केही दिनअघि एक सामुदायिक विद्यालयमै गएर मेयरले माइन्युट खोस्न र वडा अध्यक्षसँग हातपातमा उत्रिन खोजेपछि एमालेले उनको विरोध गरेको थियो ।
यूएसएडद्वारा दिन लागिएको पव्लिक फिनान्सियल म्यानेजम्याण्ड विषयक चार दिने प्रशिक्षण कार्यक्रमका लागि काफ्लेलाई मन्त्रालयले गत साउन ६ गते मनोनयन गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा वर्तमान मन्त्री गुप्ता आइसकेपछि नै सो निर्णय भएको थियो । तर कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौँ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्द गरेको थियो ।