कोही नरहेको मौका छोपी सप्तरीको एक विद्यालयमा मध्यरातमा चोरले अनौठो ढंगले चोरी घटना गरेका छन् ।
डेढ लाख रुपैयाँ मुल्य बराबरको सम्पत्ति चोरी गरी लगेका चोरले झण्डै एक लाख रुपैयाँ मुल्य बराबरको सम्पत्ति तोडफोड गरेको छ । सप्तरीको विष्णुपुर गाउापालिका– ५ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय कट्टीमा मंगलबार मध्यराति अनौठो ढंगले चोरी घटना सार्वजनिक भएको छ ।
प्रधानाध्यापक बबिता यादवले जनाए अनुसार विद्यालयबाट ग्यास सिलिण्डर, चुल्हो, पंखा, वाइफाइ राउटर, पानी तान्ने मोटर, पाइप, दिवाल घडी, भाडाकुडा र विद्यार्थीहरुको दिवाखाजाका लागि मगाइएका विभिन्न उपभोग्य सामग्री गरी डेढ लाख रुपैयाँ भन्दा बढीको सामग्री चोरी भएको जनाइएको छ ।
चोरले स्टोर कोठामा रहेको आलु, प्याज, चना, मुरही, हरियो सागसब्जी, एक थान ग्यास चुल्हो, खाना पकाउने सामग्रीहरुसमेत, दुई थान टेबुल पंखा र केही फर्निचरहरु बाहिर निकालेर नष्ट गरेका छन् । खाद्यान्न सामग्री र हरियो तरकारी विद्यालय परिसरमा छरपष्ट फालिदिएका छन् भने पंखा, ग्यास चुल्हो र कुर्सी फर्निचरलगायतका सामग्री बाहिर निकालेर तोडफोड गरी चोरले नष्ट गरेको प्रधानाध्यापक यादवले जानकारी दिइन् ।
त्यस्तै दराजमा रहेका महत्वपूर्ण कागजातहरु बाहिर निकालेर च्यातचुत पार्दै विद्यालय परिसरमा छरपष्ट फ्यालिदिएको उनले बताइन् । सो विद्यालयमा १ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुको दिवा खाजाका लागि राखिएका रासनलगायतका विभिन्न सागम्रीहरु चोरी भएको र अन्य विभिन्न सामग्रीहरु तोडफोड गर्दै नष्ट गरिदिएको प्रअ यादवले बताइन् ।
राती चोरी भएको कुरा बुधबार बिहान ८ बजेतिर विद्यालय पुग्दा मात्र थाहा पाएको कार्यालय सहयोगी ज्ञानबत्ति साहले बताइन् । त्यसपछि सबैलाई जानकारी गराइएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले घटनाको खबर पाए लगत्तै प्रहरी निरिक्षकको नेतृत्वमा एक टोली विद्यालयतर्फ खटाइएको बताए । उनले हरेक कोणबाट घटनाको अनुसन्धान गरिने र छिट्टै अपराधि पत्ता लाग्ने बताए ।


