अपडेट 
२०८१ भाद्र २१, शुक्रबार ०७:५१

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको आउँदो वैशाखमा महाधिवेशन हुने भएको छ । दुई दिनसम्म चलेको लोसपा नेपालको केन्द्रीय कार्यकारिणीको बैठकबाट महाधिवेशन वैशाख २६ गते गर्ने निर्णय गरेको छ ।

महाधिवेशनको तयारीमा जुटेको लोसपा नेपालले यस अघि आउँदो कार्तिकदेखि चैतसम्ममा वडा अधिवेशनदेखि जिल्ला अधिवेशन हुँदै प्रदेश अधिवेशनसम्म गर्ने निर्णय समेत गरेको लोसपा नेपालका महासचिव परमेश्वर साहले जानकारी दिए । यसका लागि कार्तिकसम्म साधारण सदस्यता वितरण एवं क्रियाशील सदस्यता वितरणको अभियान सञ्चालन गरिएको छ ।

वडादेखि प्रदेश अधिवेशनसम्म सो सदस्यता वितरण अभियान जारी रहने छ भने त्यसपछि महाधिवेशन वैशाख २६ गते हुने निर्णय भएको महासचिव साहले प्रस्ट गरे । लोसपा नेपाल केन्द्रीय समितिको कार्यालयमा भएको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी गर्ने निर्णय समेत भएको उनले बताए ।

महाधिवेशनको मिति तय भए पनि स्थानबारे छलफल भइरहेको उनले जानकारी दिए । यसका लागि नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्र ाष्ट्रिय अवस्थाबारे समीक्षा, समसमायिक राजनीतिक घटनाक्रमबारे समेत गम्भीररुपमा छलफल भएको उनले बताए । वर्तमान गठबन्धनको सरकार केही महिना अघि मात्रै गठन भएकाले जनताको हकहितबारे गम्भीरतापूर्वक काम गर्न सुझाव दिएको उनले बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधनको आवश्यकता रहेको औल्याएका छन् । लोसपाको बैठकमा शीर्षनेताहरुले मुलुकको हितलाई ध्यानमा राख्दै वर्तमान सरकारले कार्य गर्नु पर्ने भन्दै संविधान संशोधन पनि आजको आवश्यकता रहेको महासचिव परमेश्वर साहले बताए ।

यसका लागि लोसपा नेपालको बैठकबाट संविधान संशोधनको माग गर्दै यसका लािग कानुनविद्को सहभागितामा कार्यदलसमेत गठन गर्न वर्तमान सरकारसंग माग गरेको छ । संविधान संशोधनका लागि कानुनविद् को सहभागितामा एउटा कार्यदल गठन गर्न लोसपाको बैठकले माग गरेको महासचिव साहले बताए । सोही अनुरुप संविधान संशोधनका लागि लोसपा नेपालले एक कार्यदल गठन गरेको छ ।

संविधान संशोधनका लागि पूर्वमन्त्रीसमेत रहेका लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष दानबहादुर विश्वकर्मा र महासचिव परमेश्वर साह रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

Comment


Related News

Latest News

Trending News