अपडेट 
२०८१ भाद्र २१, शुक्रबार ०७:५४

मिथिलाञ्चल क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन पर्व शुक्रबार मनाइँदैछ ।

भदौँ शुक्लपक्ष चतुर्थीका दिन मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले विशेष महत्वका साथ चौरचन पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन पर्व एकै दिन मनाइने भएको छ । साँझ चन्द्रमाको पूजा हुने सो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रुपमा राखेर चन्द्रमालाई पूजा गरी हातमा फल एवं पूजा सामग्री लिइ दर्शन गर्ने चलन रहेको छ ।

पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरु प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । कृष्णजन्माष्ठमीको १२ दिनपछि चौरचन पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यस पर्वलाई चौरचन, चौठीचान र चौठीचन्द्र भन्ने गरिन्छ ।

यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ सो माथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठानका परिकार खाजा, पिरुकिया, खीर, माटोको छाँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा रहेको छ ।

यस पर्वमा प्रयोग हुने माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट हुने गरेको छ । यस तिथिमा चन्द्रमालाई नांगो आँखाले हेर्दा कलंक (अपनयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ दिएर चन्द्रमाको अपयशबाट बच्न सकिने धार्मिक मान्यता रहेको छ ।

भगवान श्रीकृष्णलाई स्यमन्तक मणिको प्रसंगमा लागेको कलंक छुटेकाले यस पर्वको पौराणिक महत्व स्थापित भएको छ । यसक्रममा श्रीकृष्णले सो मणि राजालाई हस्तान्तरण गर्न आग्रह गरेपछि बहाना बनाइ घर फर्किएका ती व्यक्तिले राजाको डरले भाइ प्रसेनजितलाई मणि जिम्मा लगाइ सुरक्षा साथ जंगल पठाइएको थियो ।

केही समयपछि उहाँका भाइ प्रसेनजितको कालगतिले प्रसेनजितको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारेको कुरा श्रीमद्भागवात महापुराणमा उल्लेख छ । प्रसेनजितको मृत्यु भएको र मणि हराएको खबर राजाले पाएपछि भगवान श्रीकृष्णमाथि शंका लागेको थियो । आफूमाथि लागेको कलंक मेटाउन मणि खोज्दै जंगल गएका भगवान श्रीकृष्णले खोजी गर्दै भदौँ शुक्ल चतुर्थीका दिन मणि लिएर उनी फर्किएका थिए । श्रीकृष्णको कलंक मुक्ति भएको दिनलाई स्मरण गर्दै चौरचन पर्व मनाउँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News