सप्तरीमा भएको एक आगलागी घटना नियन्त्रणमा सघाएका परिवार माथि नै आगो लगाएको आरोप लगाउँदै कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
गाउँमा कतै कुनै सुनवाई नभएपछि पीडित परिवार न्याय खोज्दै प्रहरी, अधिकारकर्मी र सञ्चारकर्मीलाई गुहारेपछि सो घटना सार्वजनिक भएको छ । पीडित परिवारले घटनामा वहालवाला सशस्त्र प्रहरी समेत सहभागी भएकाले प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा न्याय पाउन कठिनाइ भएको गुनासो पोखेका छन् ।
प्राप्त घट्ना विवरण अनुसार सप्तरीको तिरहुत गाउँपालिका ३ गोइठी स्थित कंकालिनी सहकारी संस्था लि.मा भदौं ८ गते आगलागी भएको थियो । स्थानीय महेन्द्र मेहताद्वारा संचालित सो सहकारी संस्थामा मध्यरातको १२ बजेतर्फ अचानक आगलागी भएको थियो । सोही समय कृष्णाष्टमीको अवसर पारेर गाउँ मै आयोजना गरिएको अष्ट्याममा सहभागी भई फर्कदै गरेका सोही वडा निवासी ६८ वर्षिय बलराम मेहता र उनका ३६ वर्षिय छोरा राजकुमार पनि आगो निभाउन खटेका थिए ।
सो आगो लागेको बारे राजकुमारले नै प्रहरीलाई खबर गरे पछि प्रहरी र स्थानीयवासी समेतले मिलेर करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । प्रहरी पनि घटना मुचुल्का तयार गरी फर्के । तर एक घण्टा पछि सहकारीका संचालक महेन्द्रका भाई वीरेन्द्र (सशस्त्र प्रहरी सई) तथा दाजु जोगेन्द्र (शिक्षक) सहित आएका एक समुहले “पुरानो रिसइवी साध्न तिमीहरुले नै आगो लगाएको” भन्दै घरेलु हतियारबाट परिवार माथि नै अन्धाधुन्द आक्रमण गर्न थालेको र घाइते बनाएर हिडेको पीडित मध्येका एक बलराम मेहताको भनाइ छ । उनले कुटपिटबाट आपूm संगै पत्नी कमलवती, छोरा राजदेव, राजकुमार, १० वर्षीया नातिनी पार्वतीसमेत घाईते भई उपचारका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको बताए ।
सामान्य स्वास्थ्यलाभ पछि घर फर्केर पीडक विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पुगेर बिहीबार जाहेरी दरखास्त दर्ता गराउन खोज्दा प्रहरीले दुबै पक्षलाई राखेर केही दिन पछि समस्या समाधान गर्ने भन्दै दरखास्त दर्ता नगरी फिर्ता पठाएको पीडित मेहता परिवारको गुनासो छ । मेहता परिवारले पीडक पहुँचवाला भएकाले आपूmहरुको जाहेरी दरखास्त दर्ता गर्न प्रहरीद्वारा आलटाल गर्ने गरिएको गुनासो गरेका छन ।
उनी न्यायका लागी डिमन प्रहरी चौकी, ६ नं.गण सशस्त्र प्रहरी बलको कार्यालय तथा इलाका प्रहरी कार्यालय कंचनपुर सम्म न्याय खोज्दै पुगेका छन् । तर अहिले सम्म कतैबाट न्याय पाउन नसकेको र छानवीन भइरहेको जवाफ मात्र पाउने गरिएको पीडा पोखेका छन् । मेहता परिवारले पीडकहरुमाथी सरकारवादी फौजदारी अपराध मुद्दा अन्तर्गत कारवाही हुनु पर्ने माग गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले मेहता परिवारबीच पहिलेदेखि नै जग्गाको अंशको विषयलाई लिएर विवाद रहेको बताए ।