
जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको तीन महिना वित्न लाग्दा पनि निर्वाचन आयोगले महाधिवेशनलाई वैधता दिएको छैन । महाधिवेशन पछि जसपा नेपालले निर्वाचन आयोगमा विवरण बुझाइसकेको छ । तर त्यस सम्बन्धमा छानबिन गरी निर्णय नभएको आयोगले जनाएको छ ।
जसपा नेपालको विधानको धारा ८४ को उपधारा २ मा लोकतान्त्रिक विधि अनुरुप राष्ट्रिय महाधिवेशन वा अधिवेशनबाट पार्टीका विभिन्न समिति वा निकायका पदाधिकारीहरु निर्वाचित हुने व्यवस्था छ । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विधान विपरित पदाधिकारीहरु स्वयम्ले मनोनीत गरेका छन् ।
महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि २ सय ७३ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारीका लागि निर्वाचन समितिले तोकेको दस्तुर समेत उम्मेदवारहरुले बुझाएका थिए । तर अध्यक्ष यादवले मतदान स्थगित गरी सम्पूर्ण अधिकार आफूले लिएको घोषणा गरेका थिए । त्यसपछि उनी स्वयम्ले दुई पटक गरी २ सय ४१ सदस्यीय केन्द्रीय समितिको घोषणा गरी ११ सदस्यीय कार्यकारिणी समिति र पार्टीको पदाधिकारी घोषणा गरेका छन् ।
विधान अनुसार पार्टीको महासचिवमा रामकुमार शर्मा र कोषाध्यक्षमा सुरिता साह अयोग्य रहेको पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् । पदाधिकारीको अनिवार्य रुपमा चुनाव हुनुपर्नेमा उम्मेदवारी दिएका पद बाहेकका पदमा अध्यक्ष यादवले मनोनयन गरेका छन् । पार्टीको केन्द्रीय समिति, पदाधिकारी र कार्यकारिणी समिति सहितको विवरण निर्वाचन आयोगमा पठाइए पनि हाल सम्म त्यस विषयमा निर्णय भएको छैन ।
आयोगका सुचना अधिकारी सुमन घिमिरेले जनाए अनुसार जसपा नेपालले महाधिवेशन सम्बन्धी पार्टीको विवरण आयोगमा पठाइसकेको छ । ‘जसपा नेपालबाट प्राप्त भएको विवरण सम्बन्धमा हाल निर्णय भएको छैन’ उनले भने, राजनीतिक दल सम्बन्धी प्रचलित कानुन र पार्टीको विधानलाई हेरेर निर्णय गरिने छ ।
विधान र कानुन बमोजिमको प्रक्रिया अनुरुप नभएको देखिए राय सहित फिर्ता पठाइने उनले बताए । जसपा नेपाल विभाजन गरी अशोक राईले गठन गरेको जनता समाजवादी पार्टी (जसपा) लाई २४ घण्टा भित्रै निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । आयोगको त्यस निर्णय विरुद्ध जसपा नेपालका अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा भदाँै १३ गते पेशीमा चढे पनि हेर्दाहेर्दैमा रहेको र हाल मंसिर १६ गते पेशी तोकिएको छ ।
पार्टीको पदाधिकारी र कार्यकारिणी समिति चयनपछि उत्पन्न असन्तुष्टिलाई मत्थर बनाउन अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठकबाट विधान संशोधन गर्ने तयारी गरेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार असोस २, ३ र ४ गते कार्यकारिणी समितिको बैठक बोलाइएको छ । कार्यकारिणी समितिबाट निर्णय गरी केही असन्तुष्ट नेताहरुलाई पदाधिकारीमा र कार्यकारिणी समितिमा समेट्ने तयारी अध्यक्ष यादवले गरे पनि त्यो विधान सम्मत नहुने नेताहरुले बताएका छन् ।
जसपा नेपालमा असन्तुष्टि बढेसँगै नेता र पदाधिकारीहरु जसपामा समाहित हुन थालेका छन् । समाजिक सञ्जालमार्फत पार्टीका केन्द्रीय नेताहरु असन्तुष्टि जनाउँदै पार्टी छाड्ने संकेत दिएका छन् ।