अपडेट 
२०८१ भाद्र २३, आईतवार ०७:२८

कानुन व्यवसायीहरुको साझा संगठन सप्तरी जिल्ला बार एसोसिएसनको निर्वाचन मिति नजिकिएसंगै चुनावी सरगर्मी बढेको छ ।

बार एसोसिएसनको आगामी भदौँ २९ गते शनिबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्षसहित कार्य समितिको ११ तथा ५ केन्द्रीय पार्षदका लागि हुने निर्वाचनमा दुई समूह प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् । एउटा समूहबाट अध्यक्ष पदमा कामेश्वर यादव, सचिव रामएकवाल मण्डल तथा सदस्यमा लवेन्द्र प्रसाद देव, धीरेन्द्र लाभ, रामनरेश चौधरी, देवनाथ चौधरी र शिवनारायण यादव उम्मेदवार छन् । भने ध्रुबकुमार मण्डल, श्यामनारयण यादव, भोजराज शर्मा, बलराम देव र कमलकुमार यादव केन्द्रीय पार्षदका उम्मेदवार छन् ।

त्यस्तै अर्को समूहबाट अध्यक्ष पदमा उपेन्द्रप्रसाद यादव, सचिवमा सुरेश सिंह र सदस्यहरुमा दीपेश कुमार चौधरी, ज्ञानेन्द्र प्रसाद यादव, बिरबहादुर कडारी, महेन्द्र प्रसाद यादव र हेमनारायण चौधरी चुनावी प्रतिस्पर्धामा छन् । सो समूहबाट महेन्द्र प्रसाद देव, मनु खनाल, शंकर कुमार मिश्र, केशरलाल खंग र रमाकान्त चौधरी केन्द्रिय पार्षदका उम्मेदवार छन् ।

यसअघि सहसचिव पदमा शैलजाकुमारी साहको एक मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी छन् । उनी उपेन्द्र समूहका उम्मेदवार हुन् । त्यस्तै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दिलीप चौधरीले उम्मेदवारी फिर्ता लिँदा मिस्टर चौधरी तथा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका बैजनाथ चौधरीले उम्मेदवारी फिर्ता लिँदा निलमकुमारी यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक केशवप्रसाद दासले जानकारी दिए ।

रोचक पक्ष के छ भने अध्यक्ष पदमा उपेन्द्र समूहका मिस्टर चौधरी र सहसचिवमा शैलजाकुमारी साह निर्विरोध हुँदा कोषाध्यक्ष पदमा कामेश्वर समूहका निलमकुमारी यादव निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै एक महिला सदस्य पदमा भने दुबै समूहबाट उम्मेदवारी नपरेपछि सो पद हाल रिक्त रहेको छ । पछि मनोनयन प्रक्रियाबाट पूर्ति गरिने निर्वाचन समितिका संयोजक दासले बताए ।

अध्यक्ष पदका दुबै उम्मेदवारले स्वच्छ, न्यायिक वातावरणको सृजना, पेशागत हकहितको संरक्षण, न्यायमा सबैको पहुँच तथा न्यायपालिकाप्रति जनताको आस्था बढाउने लगायतका विषयमा काम गर्ने मतदाता समक्ष प्रतिबद्धता गर्ने गरेका छन् । अध्यक्ष पदका दुवै उम्मेदवार कानुन व्यवसायी माँझ लोकप्रिय भएकाले कसले बाजी मार्ला भन्ने आकलन गर्न कठिन भएको मतदाताहरु बताउने गरेका छन् । दुई वर्षे कार्यकालका लागि हुने बार एसोसिएसनको निर्वाचनमा कुल १ सय ३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News