सरकारबाट बहिर्गमन भएपछि नेकपा माओवादी केन्द्र देशव्यापी रुपमा पार्टी, संगठन निर्माण तथा विस्तार अभियानमा जुटेको छ । देशव्यापी रुपमा परामर्श बैठकको नाममा माओवादीका शीर्ष नेतृत्व तह स्थलगत रुपमै केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्यलगायतका नेताहरुका गुनासा सुन्ने र निर्देशन दिने अभियान नै चलाएका छन् । सत्तामा हुँदा पार्टी, संगठनप्रति खासै वास्ता नराख्ने गरेको आरोपलाई मत्थर पार्दै माओवादीका अध्यक्षसहित पदाधिकारीको टोली नै देश दौडाहामा छन् ।
मधेश प्रदेशमा समेत भएको परामर्श बैठकमा नेतृत्वप्रतिको विश्वास, संकट र पार्टीमा रहेको चरम गुटबन्दीले निम्त्याएको अराजक तथा नातावादका कारण पार्टी धराशायी भएको भन्दै प्रदेशका नेताहरुले शीर्ष नेतृत्वसमक्ष गुनासो पोखे । मधेश प्रदेशमा माओवादी केन्द्रमा विभिन्न गुटमध्ये सबैभन्दा बलियो गुटको रुपमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादवको छ । यी दुईजनाको नाम गुटबन्दीका अगुवाका रुपमा पटक पटक चर्चामा आए पनि शीर्ष नेतृत्व सरकारमा रहँदा पार्टी र संगठनप्रति खासै वास्ता नगर्दा मधेश प्रदेशमा पार्टीको अवस्था झनै बल्झिँदै गएको प्रति नेताहरुले चिन्ता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगतप्रसाद यादवले दुई दिनसम्म चलेको प्रदेश परामर्श बैठकमा व्यक्तिभन्दा बलियो पार्टी र संगठनलाई बनाउनका लागि गुटबन्दी अन्त्य गर्नु पर्ने बताएका छन् । उनले पार्टी विधि प्रक्रियाबाट चल्नुपर्ने र पार्टीमा देखिएको अराजकतालाई हटाउनका लागि अध्यक्ष प्रचण्डले आफ्नो कमीकमजोरी पनि सच्याउनुपर्ने धारणा राखेका थिए । उनले आठौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पूरा हुन लाग्दा समेत प्रदेश समिति गठन नभएको, जिल्ला समिति पनि कार्यकारी नहुँदा समस्या भएको गुनासो पोखेका थिए ।
पार्टी विधान, विधि, पद्धतिअनुसार नचलेको, पार्टी सञ्चालनमा नेतृत्वले सही ढंगले पहल गर्न नसकेकोमा आलोचना गरे । मधेशमा नेतैपिच्छे गुटबन्दी र उपगुटबन्दीका कारण २०७९ को निर्वाचनमा माओवादीले ठुलो धक्का खाएको थियो । पार्टी र संगठन निर्माणमा देखिएको समस्या समाधान गरी प्रभावकारी संगठन निर्माणका लागि गत वर्ष फागुनमा बसेको पार्टीको स्थायी समिति बैठकले मधेशको इन्चार्जमा सचिव लीलामणि पोख्रेललाई नै निरन्तरता दिएको थियो ।
उपमहासचिवमा गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको जिम्मेवारी र मातृकाप्रसाद यादवलाई भारत आप्रवासको जिम्मेवारी दिएको थियो । केही वर्ष अघि महोत्तरीको खयरमारामा शहीद रामवृक्ष यादवको शालिक तोडफोडको विषयलाई लिएर उपमहासचिवद्वय मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेलबीच चरम विवाद उत्पन्न भएको थियो । तर सो विषयको अहिलेसम्म छिनोफानो माओवादी अध्यक्ष प्रचण्डले समेत गर्न सकेनन् । अहिले उपमहासचिव मातृकाप्रसाद यादव विरामी भएर चीनमा उपचार गराइरहेका छन् ।
गुटबन्दी भएको विषयमा अर्का उपमहासचिव गिरिराजमणि पोखरेलेले जवाफ दिँदै आफू प्रदेशको जिम्मेवारीमा नहुँदा पनि गुटबन्दी गरेको आरोप आएको भन्दै गुनासो गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अब गुटबन्दी सह्य नहुने बताए । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको मधेश प्रदेशको परामर्श बैठकमा बुधबार उठेका प्रश्नको जवाफ दिँदै उनले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न निर्देशन दिए । उनले मधेशमा पार्टी बिग्रिएकोले अब पार्टी र संगठनलाई विस्तार तथा बलियो बनाएर एकरुपतासाथ अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याए ।