२०८१ भाद्र २७, बिहीबार ०७:५९

मधेश प्रदेशसभामा रहेका विषयगत समितिमा हेरफेर गरिएको छ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको बुधबार बसेको ३१ औँ बैठकमा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहनु भएका सदस्यहरूको समिति हेरफेर गरिएको छ ।

सो बैठकले प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, चन्दनकुमार सिंहलाई प्राकृतिक स्रोत तथा वातावरण समितिमा, शम्भुकुमार साह, सरिताकुमारी साह, रहबर अन्सारी, बेची लुङ्गेली, विमला अन्सारी तरुमलाई विकास समितिमा रामरोजकुमार यादव, सरोजकुमार यादव, त्रिलोकी प्रसादलाई प्रदेश मामिला समितिबाट विकास समितिमा हेरफेर गरिएको सभामुख रामचन्द्र मण्डलले जनाएको छ । त्यस्तै प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव, वीरेन्द्रप्रसाद सिंह, मो. जैद आलम, केशव राय, महेश प्रसाद यादव, सरोजकुमार यादव, भरतप्रसाद साहलाई प्रदेश मामिला समितिमा, हसिना खातुनलाई प्रदेश मामिला समितिबाट अर्थ तथा योजना समितिमा, रामबाबु यादव, सञ्जयकुमार यादव सर्लाहीलाई अर्थ तथा योजना समितिमा, अनिताकुमारी साहलाई कृषि तथा भूमि व्यवस्थापन समितिबाट अर्थ तथा योजना समितिमा हेरफेर गरिएको छ ।

त्यसैगरि प्रदेश सांसद कचन बिच्छालाई अर्थ तथा योजना समितिबाट कृषि तथा भूमि व्यवस्थापन समितिमा, निलम रजक, मोहमद समिम, सिंहासन सा कलवार, सुनिता यादव, रमेशप्रसाद कुर्मी, उर्मिलादेवी सिंहलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, रेखा ठाकुर, युवराज भट्टराईलाई सार्वजनिक लेखा समितिमा, शारदादेवी थापा, शेखअबदुल कलाम अजाद, रन्जुकुमारी खंगलाई महिला बालबालिका तथा सामाजिक न्याय समितिमा हेरफेर गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।

सो बैठकमा प्रदेशसभा सचिवालयसम्बन्धी ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ । सांसद रामअशिष यादव, उपेन्द्र महतो, सञ्जयकुमार यादव, किरणकुमारी साह लगायतले विधेयकको सैद्धान्तिक छफलफमा धारणा राख्नु भएको थियो । सो विधेयकमाथि प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ११० बमोजिम संशोधन प्रस्ताव पेस गर्न चाहने सांसदहरूलाई ७२ घण्टाभित्र सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउन समय दिएको सभामुख मण्डलले बताए ।

त्यसअघि शून्य समयमा बोल्दै प्रदेश सांसद संजिलाकुमारी यादवले सिरहा जिल्लाको चोहर्वा क्याम्पको अगाडि खाली गरिएको वनको अतिक्रमित जग्गामा फेरि स्थानीयहरू त्रिपाल टाँगेर बस्न थालेकोले हटाउन ध्यानाकर्षण गराए । सांसद सहिदा खातुनले मदरसाको विधेयक ल्याउन माग गरे ।

प्रदेश सांसद प्रमोदकुमार यादव वित्तीय संस्था र बैठकहरू व्यापारीहरूमा मात्र लगानी गरिरहेकोले किसान मजदुरहरूमा पनि लगानी गराउन माग गरे । त्यस्तै सांसद अनिता साहले स्वास्थ्य चौकीमा विद्युत लाइन नभएको कारण औषधि बिग्रिरहेकोले अविलम्ब लाइन जडान गराई दिन आग्रह गरिन् ।

सांसद सञ्जयकुमार यादवले लाहान अस्पतालमा काम गरेर स्वास्थ्यकर्मी महिला घर फर्किने क्रममा मोटरसाइकलमा आएका चार जनाले बाटो छेकेर मोबाइल खोस्नुको साथै दुर्व्यवहार गरेको घटनामा एक जनालाई पक्राउ गरे पनि मुद्दा चलाउन प्रहरीले आनाकानी गरिरहेको बताए । त्यस्तै सांसद किरणकुमारी साहले स्वास्थ्य बिमा गराएका मानिसहरूलाई अस्पतालमा पुर्जा कटाउन, स्वास्थ्य प्रयोगशाला जाँच गराउन लामो समय लाइनमा बस्नु पर्ने बाध्यात्मक अवस्था रहेको भन्दै यति गरेर औषधि लिन जाँदा पसलमा औषधी नपाउने गरेकोले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

सांसद शङ्कर चौधरीले जिराभवानी ५ मा बाधको पटक पटक आक्रमण भइरहेको ध्यानाकर्षण गराउँदै ठोरीमा पनि हात्तीको आंतक रहेकोले नियन्त्रणतर्फ ध्यान दिन आग्रह गरे । प्रदेश सभाको बैठक भदौँ २७ गते बिहीबार १ बजेसम्मको लागि स्थगित भएको छ ।

Comment


Related News

Latest News

Trending News