मधेश प्रदेशको राजधानी जनकपुरधामका उद्योगी व्यवसायीहरुले शनिबार आफ्ना नेता छान्न लागेका छन् । जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नेतृत्व चयनका लागि शनिबार हुने मतदानका लागि उम्मेदवारहरुले शुक्रबार शक्ति प्रदर्शन गरेका छन् । शक्ति प्रदर्शनको क्रममा उम्मेदवारहरुले जनकपुरधाम नगरको मुख्य बजारमा भारी भीड जुटाएर मत मागेका थिए ।
अध्यक्षका उम्मेदवारहरुले निकालेको जुलुसमा युवा व्यवसायीहरुको भारी सहभागिता रहेको थियो । सबै उम्मेदवारहरुको पक्षमा युवा व्यवसायीहरु खुलेर लागेका थिए । बिहीबारसम्म चुनावको विषयमा देखिएको अन्योल शुक्रबार धेरै हद सम्म उघ्रेको छ । मतदाताहरु खुलेपछि मौन रहेका मतदाताहरु पनि आफ्ना धारणा प्रष्ट गरेका छन् ।
जउवा संघको नेतृत्वका लागि युवाहरुले नै प्रतिस्पर्धा गरिरहेकाले युवा मतदाताहरु नै प्रचारमा खुलेका छन् । अध्यक्ष पदका उम्मेदवार जितेन्द्र प्रसाद साहले मतदाताहरुलाई इमान्दार र अनुभवी उम्मेदवारलाई मतदान गरी उद्योगी व्यवसायीहरुको सम्मान बढाउन आग्रह गरे । उनले संघको गत चुनावमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष रहिसकेका साह जातिगत रुपमा कलवार हुन् । जउवा संघको सो जातिबाट कयौं व्यवसायी नेताले नेतृत्व प्रदान गरिसकेका छन् । अध्यक्ष पदका उम्मेदवार मनिष रमण साहले सुनचाँदी बजारबाट निकालेको जुलुससहितको मत माग्ने अभियानलाई बजार भरी घुमाएका थिए । बजारमा साह समर्थकहरुले पहेलो गमछालाई पहिचानको रुपमा राखेका थिए ।
युवाहरुको व्यापक सहभागिता रहेको जुलुसमा सबै व्यवसायी मतदाता रहेको मनिषका सहयोगी चन्दन साहले बताए ।‘मत माग्ने अभियानमा व्यवसायीहरु मात्र रहेका थिए’ उनले भने, मतदाताहरुको भारी समर्थनले नै जित सुनिश्चित गर्नेछ । साह वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका छन् । जातिगत रुपमा उनी तेली हुन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार सुरेन्द्र भण्डारीका समर्थकहरुले रातो गमछालाई पहिचान बनाएर बजारमा मत माग्दै जुलुस गरे । उनीहरुले उद्योगी व्यवसायीहरुको समस्यामा २४ घण्टा साथ रहने व्यवहारिक युवा नेता भण्डारी रहेको दावी गरे । गत चुनावमा भण्डारी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । जातिगत रुपमा भण्डारी माली हुन् । उनी हाल नेकपा एमालेको जनकपुरधाम उपमहानगरापलिका कमिटीको अध्यक्ष पनि हुन् । उद्योगी व्यवसायीहरु माझ तीनै जना उम्मेदवारको पहिचान छ ।
तीनै जनाको फरक फरक विशेषता छ । तीनै जना राजनीतिक रुपमा दलसित आबद्ध छन् । तर चुनावमा राजनीतिक आस्था गौण भएको छ । राजनीतिक आस्थालाई जातीय कट्टरताले पछाडि छाडेको छ । राजनीतिक दलका नेताहरुले आफना समर्थक उम्मेदवारहरुका लागि दिनरात एक गरी मतदान गर्न दबाब बढाइरहेका छन् ।
तर टेलिफोनमा मतदाताले आश्वासन दिए पनि मतदान जातिगत आधारमा नै उम्मेदवारलाई गर्ने निश्चित गरिसकेका छन् । तर विभिन्न जातिहरुबीच तालमेल नहुँदा चुनावको परिणाम अनिश्चित नै रहेको बताइन्छ । नेपाली कांगे्रस र नेकपा एमालेका नेताहरुले चुनावलाई प्रतिष्ठाको विषय बनाए पनि अन्य दलका नेताहरुले मन परेका उम्मेदवारलाई भित्री रुपमा सहयोग गरेको देखिन्छ ।