अपडेट 
२०८१ भाद्र २९, शनिबार ०८:११

तीन महिना अघि एक पक्षको कुटपिटबाट मृत्यु भएका युवकका आफन्तजनले पीडकपक्षबाट प्रलोभनसहित घटना मिलापत्र गर्न धम्की दिने गरेको बताएका छन ।

राजविराजमा शुक्रबार मृतक राजविराज– ४ का ३२ वर्षीय औरञ्गजेव मियाँका बुवा मो.हबिव, काका बबलु खान र भाई मो.तवरेज आलमलगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै धम्की दिने गरेको गुनासो गरे । गत असार ३ गते मुस्लिम समुदायको महान पर्व बकरइदका दिन राजविराज– ४ स्थित माछा हटियामा एक पक्षको कुटाइबाट गम्भीर घाइते भएका औरञ्गजेवको २ दिन पछि उपचारका क्रममा विराटनगर स्थित नोबेल अस्पालमा मृत्यु भएको थियो ।

राजविराज ४ स्थित रोयल इनफिल्ड अटोमोबाइलका संचालक औरञ्गजेवमाथि जनावरको कुर्वानी तथा मदरसालाई सहयोगका विषयमा विवाद हुँदा धारिलो घरेलु हतियारको प्रयोग गरी हत्या गरिएको परिवारजनको भनाइ छ । प्रहरीेले सो घटनामा संलग्न रहेका ७ आरोपी मध्ये राजविराज नगरपालिका वडा ३ का मो.नसिर, वडा २ का मो.आशिक खान र राजगढ गाउँपालिका ६ का मो.लाल खान गरी तीन जनालाई पक्राउ गरिसकेको छ । उनीहरु सप्तरी जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागी राजविराज कारागारमा छन् ।

घटनाका थप आरोपित राजविराज नगरपालिका वडा– २ का मो.असलम भन्ने तरवेज, वडा ३ का मो इमरान खान, मों इर्शाद र राजगढ गाउँपालिका– ६ का मो. मिन्टु भन्ने हुसैन खान फरार छन । उनीहरुको ब्यापक खोजतलास भईरहेको प्रहरीको भनाइ छ । सो पत्रकार सम्मेलनमा मृतक औरन्गजेवका बुआ मो.हबिबले पीडक पक्षले आर्थिक लेनदेन गरी घटना मिलाउन दबाव बढाउँदै लग्नुका साथै नमिले “तिम्रो परिवारमा यस्तो घट्ना फेरि दोहोरिन सक्ने” भन्दै चेतावनी समेत दिन थालेको सुनाए ।

पीडक पक्ष पैसाको चलखेल गरी अपराध लुकाउने खेलमा लागेको भन्दै मुतकका आफन्तले सबैसंग न्यायका लागि अपिल गरेका छन् । उनीहरुले औरञ्गजेवको हत्यामा संलग्न भइ हाल फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा कारबाही गरिनु पर्ने माग समेत गरेका छन् । अढाई वर्ष अघि बिहे भएका व्यवसायी औरञ्गजेवका श्रीमती र दुई काखे शिशु छन् । औरञ्गजेवको हत्या संगै उनीहरुको विचल्ली भएको छ । घट्नाका फरार आरोपीतहरुको खोजी कार्यमा कुनै कसर बाँकी न राखिएको र छिट्टै पक्राउ पर्ने प्रहरीको भनाई छ ।

Comment


Related News

Latest News

Trending News