मधेश प्रदेश सरकारले असोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
गृह सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवस मनाउने विषयमा सम्बन्धित सरोकारवालासँग छलफलका लागि शुक्रबार आयोजना गरेको बैठकमा यस प्रकारको निर्णय भएको छ । संविधान दिवसका दिन मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधामको रामानन्द चोकबाट प्रभात ¥याली निकाल्ने र त्यसको लगत्तै संविधान र संघीयताको विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिने मन्त्रालयका कानुन अधिकृत सन्दीप सिंहले जानकारी दिए । उनले संविधान दिवसका दिन हुने कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलको संसदीय दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी, चारवटै सुरक्षा निकाय, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहने बताए ।
मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको शुक्रबार बैठकमा चारवटै सुरक्षा निकायका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केशव सुवेदीलगायतकाहरुको सहभागिता रहेको थियो ।