गत शनिबार बिहान– ६ बजे कनकपट्टीका धर्वेन्द्रकुमार यादवको फोन आयो –‘दाजु । कटरैतके बान्ह तैयार भ’ गेलै । आबिक देखियौ धान कते हरियर कचोर है ।’ दुई साता अघि जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोजकुमार साह प्राविधिकहरुसंग बाँध बाँध्ने सम्भावित स्थलको निरीक्षण गर्न गएको बेला म पनि संगै भएकोले धर्वेन्द्र मलाई सम्झेको हुनु पर्दछ । शनिबार भएकोले फुर्सदमै थिए ।
मोटरसाइकलमा सवार भइ कटरैततर्फ हानिए । शिवपुरभन्दा दुई सय मिटर पूर्व पुग्दा सडकको दुबै किनारका खेतहरुमा टन्नै पानी देखे । दुई साता अघि यही बाटो जादै गर्दा धाँजा फाटेको खेतमा पहेलो हुन लागेको धानको बिरुवा देखेको थिए । पानी पाएर धानका वोटहरु पुनः हरिया हुँदै गरेको देखेँ । काटेर गाई गोरुलाई खुवाउनु पर्दछ भनेर निरास बनेका किसानहरुको आशा पलाएको पाए । कोही धान गोलमेल गर्दै थिए त कोही युरिया मल छर्किदै थिए ।
कटरैत नजिक पुग्दा त अचम्मको दृश्य देखें– बालबालिकाहरुको समूह खेत, कुलो र ह्युमपाइपको तल भेला भएर माछा मार्दै थिए । सबको अनुहारमा खुसी अनि उत्साहको रेखा स्पष्ट देख्न सकिन्थ्यो । पोठिया, डेढवा, गरै, गरचुन्नी । पानी भएपछि माछा आइहाल्छ । अचेल भगवानपट्टीे पश्चिम, कटरैत, मनहरपुर, तेतरिया, बेलौनी, कनकपट्टी, लोहनासम्मका किसानको खेतमा जलाद नदीको पांगोसहितको पानी पुगेको छ । वर्षौदेखि सुकिसकेका हैण्डपाइपहरुमा पुनः पानी आउन थालेका छन् ।
बालबालिकाहरु माछा मार्न थालेका छन् । अनि किसानहरुको अनुहार उज्यालो भएको छ । धानबाली राम्रो हुन्छ भन्ने आमनागरिक खुसी छन् । जनकपुरधाम वडा नम्बर १७ का नगरसभा सदस्य तथा कटरैतवासी उपेन्द्र शर्माका अनुसार, जनकपुरधाम उपमहानगर पालिकाको लगभग १२ लाखको लागतमा जलाद नदीमा बांध बाँधिएको छ । १२ लाखको लागतमा निर्माण गरिएको बाँधको पानीले एक दर्जन गाउँका झण्डै ३ हजार विघा खेतमा सिँचाइ भएको छ– ‘जे खेत भरिपेट पानि पीने रहै है, ओइ खेतमे दलिहन आ गहूम सेहो खूब उब्जै है ।’ तेतरियाका लक्ष्मी साह डाक वचन सुनाउँदै भन्दै थिए– ‘ जलादि नदीमे पक्की बान्ह भ’ जाउ बैवा त एहि ठामसँ पश्चिम–दक्षिणके २० टा गाममे कहियो रौदी नहि पडतै ।’ बाँध बाँधेर सिँचाई गर्नु आदिकाल देखि चल्दै आएको तराई मधेशको पारम्परिक प्रविधि हो ।
सरकारको उपस्थिति न्युन रहेको तथा सतहमुनिको पानी झिक्ने प्रविधि त्यति सोह्रो विकास नभएको बेला सिँचाइको एकमात्र साधन नदीहरुमा बांध बांध्नु नै थियो । पुर्खाहरुकै दुरदर्शीता हो कि आज पनि जनकपुर भन्दा पश्चिमबाट बग्ने दुधमतिमा बाँधिने धर्म बान्हको कुलोको संरचना आज पनि पुराना सरकारी कागजहरुमा हेर्न सकिन्छ । कटरैतभन्दा उत्तर जलाद नदीमा आज जुन बाँध बाँधिएको छ, त्यस स्थानमा यस अघि पनि बाँध बाँधिएको प्रमाणहरु फेला पर्छन् । कटरैतमा बाँध बाँधिएको स्थानभन्दा पश्चिम सरकारी नक्सामा कुलो भनि प्रष्ट देख्न सकिन्छ । यसै पुरानो कुलोलाई सफा गरेर अचेल जलादको पानी लोहनासम्म पु¥याइएको हो ।
नभए एक धुर जग्गाको विवादमा हत्यासम्म हुने मधेशमा आफ्नो जग्गाबाट कस्ले कुलो खन्न दिन्थे ? तर बालुवा माटोले निर्माण गरिएको यो बाँध स्थायी भने होइन । जलाद नदीमा आउने सानो बाढीले यस संरचनालाई सजिलै भत्काउन सक्छ । फेरी पानी निकासको दह्रो व्यवस्थापन भएन भने कटरैत गाउँ जोखिममा पर्न सक्छ । अचेल हरिया देखिएका खेतहरु जलमग्न पनि हुन सक्छन् । जलाद नदीको बाढीले यस अघि कटरैत उत्तर टोललाई पटक पटक विस्थापित बनाएको हामीले देखेकै हौँ ।
समग्रमा भनौँ भने जलाद नदीमा स्थायी बाँध बाँधेर दुबैतिर पक्की कुलोको संरचना निर्माण गर्न सकियो भने १० हजार विघाभन्दा बढी खेतमा बाह्रै महिना पानी पु¥याउन सकिन्छ । जनकपुरधाम उपमहानगर पालिकाका वडा नम्बर १७ का वडा सदस्य तथा कटरैतवासी विनोद मुखिया प्रदेश सरकार तथा केन्द्रीय सरकारसंग चैनल बाँधको लागि प्रस्ताव गर्ने बताउँछन् । मुखियाका अनुसार २५ देखि ३० करोडको लागतमा पक्की चैनल बांध तयार हुन्छ । यद्यपि २५,३० वा ५० करोड बजेट जनकपुरधाम उपमहानगर पालिकाको लागि पनि ठूलो कुरा होइन ।
तर हाल जुन ठाउँमा बाँध बाँधिएको छ, त्यो ठाउँ मिथिलाविहारी नगर पालिकाको सीमामा पर्दछ । जनकपुरधाम उपमहानगरपालिका अन्य पालिकाको सीमाभित्र यति ठुलो बजेट लगाउन गाह्रो छ तर प्रदेश वा संघीय सरकार प्राविधिकहरुसंगको सल्लाहमा जहाँपनि स्थायी संरचना निर्माण गर्न सक्छन् । ‘जनकपुरधाम उपमहानगरपालिका स्थायी बांध निर्माणको लागी प्रदेश र संघीय सरकारसंग लिखित आग्रह गर्न गई रहेको छ । आशा छ, दुबै सरकार जनताको पक्षमा निर्णय गर्ने छन् ।’ मेयर मनोजकुमार साहको प्रतिक्रिया थियो । जलादमात्र होइन, धनुषाका बिगही, बछराजा, अहरीलगायतमा नदीहरुमा बाँध बाँधेर सिँचाइको सुविधा उपलब्ध गराउन सकिन्छ । तर प्रदेश तथा संघीय सरकारको प्राथमिकता डीप बोर्डिङ हो । स्यालो ट्युवेल हो ।
पोखरी, मठ–मन्दिर, मदर्सा आदि सौन्दर्यकरण हो । सतहमुनिको पानीको मुहान निरन्तर सुक्दै गएको बेला नदीहरुको पानीको अधिकतम् प्रयोग पर्यावरणको दृष्टिले पनि जरुरी छ । नदीको पानी गाउँ पस्ने बितिकै कटरैत गाउँमा सुकिसकेका हैण्ड पाइपहरुमा पुनः पानी आएको घटनाबाट प्रदेश र संघीय सरकारले ठुलै सिख लिनु पर्ने हो । फेरी यति सानो लागतमा सयौँ विघा खेतमा सिँचाइ हुनु पनि चान चुने कुरा होइन । खासमा मधेश प्रदेश सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ ।