अपडेट 
२०८१ भाद्र ३०, आईतवार ०७:४१

मधेश प्रदेशको राजधानीको अत्यन्त चर्चित जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन शनिबार सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत ललित कुमार साहले जनाए अनुसार कुल ३ हजार ५ सय ७४ जनाले मतदान गरेका छन् ।कुल ४ हजार ७६ मतदाता रहेका थिए । बिहान ९ बजे मतदान सुरु भएको र साँझ साढे ६ बजे सम्पन्न भएको उनले बताए । वर्षाको कारण बिहान मतदानमा केही शिथिलता देखिए पनि अपरान्हबाट भीड बढेको थियो ।

अधिकृत साहले जनाए अनुसार मतगणना रातिबाट नै प्रारम्भ भएको जनाएका छन् । बाहिर सडकमा व्यापक भीड देखिए पनि मतदान स्थलमा स्थिति शान्तिपूर्ण थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सुरक्षा दिएको थियो । अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको जनकपुरधाम बस व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरीले जनाए । उनी निर्वाचनको पर्यवेक्षकमा खटेका थिए ।

अध्यक्ष पदका उम्मेदवार जितेन्द्र प्रसाद साहले प्रतिस्पर्धा त्रिकोणात्मक नै रहेको बताए । मतदाताहरुको प्रतिक्रियाबाट अध्यक्ष पदमा तीनै जनाबीच प्रतिस्पर्धा रहेको उनले बताए । अध्यक्ष पदका अर्का उम्मेदवार सुरेन्द्र भण्डारीले पनि चुनाव प्रतिस्पर्धात्मक भएको स्वीकारे । ‘चुनावमा कडा प्रतिस्पर्धा देखिएको छ ’ उनले भने, गत राति भएको आर्थिक चलखेल र दबाबले मतदानमा प्रभाव परेको हुन सक्छ । अध्यक्ष पदका उम्मेदवार मनिष रमण साहले फर्जी मतदाताहरुबाट मतदान गराइएकोले परिणाम अनिश्चित भएको बताए । महिलाहरुलाइ फर्जी मतदान गर्न लगाइएको उनले आरोप लगाए । तर चुनावको परिणाम आफ्नो पक्षमा आउनेमा उनी विश्वस्त देखिएका छन् ।

अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद साहले प्यानल बनाएको देखिएन । भण्डारीको पनि आधिकारिक लिष्ट जारी नभएको उनका निकटका सहयोगीहरुले जनाएका छन् । तर मनिष रमणको समुहबाट उम्मेदवारहरुको सुची जारी गरिएको थियो । मनिषको प्यानलबाट पदाधिकारीको उम्मेदवारहरुको क्रम संख्या २ भएकालाई मतदान गर्न भनिएको थियो । सदस्य पदका लागि पनि समूहले उम्मेदवार तोकेका थिए । धनुषा जिल्लामा हुने संसदीय चुनावको भन्दा समेत बढी चहलपहल थियो ।

मतदाता र समर्थकहरुले शिव चोकदेखि भानु चोकसम्मको झण्डै डेढ किलोमिटर सडक दिनभर नै अवरुद्ध रहेको थियो । उम्मेदवारहरुले विभिन्न होटेलमा भोजन र नास्ताको प्रबन्ध गरेकाले समर्थकहरु दिनभर नै डटेका थिए । नेपाली कांग्रेसले मनिष रमण साह समूहलाई समर्थन गरेको थियो । कांग्रेसका दुवै समूह एकजुट भएको थियो ।

कांग्रेसका कयौँ नेताहरु साहको चुनाव क्याम्प रहेको होटेलमा दिनभर नै जमेका थिए । नेकपा एमालेले भण्डारीको पक्षमा लविंग गरेको थियो । एमालेका केन्द्रीय सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री रघुबीर महासेठ र पूर्व मन्त्री जुली महतोले भण्डारीका लागि मोर्चामा थिए । वरिष्ठ उपाध्यक्षमा मनोज साह र अम्भु साहबीच प्रतिस्पर्धा भएको बताइन्छ ।

महासचिवमा फुलदेव पण्डित र सुधिर पजियारबीच कडा प्रतिस्पर्धा रहेको बताइएको छ । त्यस्तै महिला उपाध्यक्षमा रिंकु साहको स्थिति सबल बताइए पनि जित सुनिश्चित नै नरहेको बताइन्छ । त्यसैगरि कोषाध्यक्षमा परमेश्वर साह जितोन्मुख रहेको अनुमान गरिएको छ । पदाधिकारीहरुको परिणाम आइतबार मध्यान्ह सम्म आउन सक्ने छ । कम उम्मेदवार रहेकाले मतगणना गर्न सहज हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News