अपडेट 
२०८१ भाद्र ३०, आईतवार ०७:५१

वीरगंज महानगरपालिकाका ३२ वटै वडाका लागि स्वास्थ्य मन्त्रालयले पठाएको एक करोडभन्दा बढीको स्वास्थ्य उपकरण चार महिनादेखि अलपत्र अवस्थामा रहेको छ । सो उपकरणहरू समयमा वितरण गरी सञ्चालनमा नल्याइ थन्काएर राख्दा सर्वसाधारणले अन्यत्र महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् ।

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले वीरगञ्जका स्वास्थ्य चौकीमा अति आवश्यक स्वास्थ्य उपकरणहरू पठाएका थिए । भिडियो एक्सरे मेसिन, गर्भवतीको बच्चाको धड्कन जाँच्ने मेसिन लगायतका सामग्री छन् । सो उपकरणहरू चार महिनादेखि महानगरपालिकाको स्टोरमै थन्क्याइएको छ । बर्थिङ सेन्टरका लागि पठाइएका उपकरणहरू नपुग्दा वीरगञ्ज आउने गर्भवती महिलाहरूले ८ सय रुपैयाँको डाक्टरको पूर्जी, भिडियो एक्सरे र अन्य जाँचका लागि महँगो शुल्क तिर्न बाध्य छन् ।

वीरगञ्जका मेयर राजेशमान सिंहको व्यवस्थापकीय कमजोरी र स्वास्थ्य शाखाका अधिकारीहरूको लापरबाहीले सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरले साउन ४ गते ९० लाख ३२ हजार रुपैयाँ मुल्य बराबरको ८ किसिमका स्वास्थ्य उपकरण वीरगञ्ज महानगरमा पठाएको थियो । त्यस्तै पथलैया स्टोरबाट ३९ लाख ५४ हजार रुपैयाँ मुल्य बराबरका १७ प्रकारका उपकरण जेठ ९ गते पठाएको थियो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोर मार्फत वीरगञ्ज महानगरको ३२ वटै वडाका स्वास्थ्य चौकीका लागि डिजिटल फिटल डपलर, नेबुलाइजर, विपी सेट, माइक्रो स्कोप प्रिमोस्टार, पोर्टेबल यूएसजि मेसिन, डिलेभरी सेट, सक्सन मेशिन लगायतको मेसिन पठाएको थियो ।

त्यस्तै स्वास्थ्य सेवा विभाग पथलैया स्टोरबाट भिएलएस एसी कोल्डच्यान इकुप्मेन्ट, आइस प्याक डिप फ्रिजर विथ स्टेबलाइजर, मेडिकल स्ट्याण्ड, मेडिकल ट्रली, डेलेभरी बेड, फोटो थेरेपी मेशिन, फ्रिज फ्रि भ्याक्सिन क्यारीर, अक्सिजन सिलिन्डर, निडल कटर, अटोडेभ, मस्क्युटो नेट लगायतको स्वास्थ्य सामाग्री पठाएको थियो । वीरगञ्ज महानगरले सो सामग्री अझैसम्म पनि वितरण नगर्दा सर्वसाधारणहरू महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् ।

Comment


Related News

Latest News

Trending News