अपडेट 
२०८१ भाद्र ३१, सोमबार ०७:५६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल चुनिएका छन् । ८ जना सभासद रहेको लोसपा संसदीय दलमा ५ जनाले सोनललाई समर्थन जनाएका छन् ।

दलको बहुमत सदस्यले नेता चयन गरेपछि मधेश प्रदेश सभाले उनलाई नेताको मान्यता दिएको छ । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले सोनललाई स्पष्टीकरण सोधेका छन् ।दलको बैठक पार्टीको निर्देशन विपरीत गरेकोले ३ दिन भित्र जवाफ पेश गर्न सोनललाइ ठाकुरले निर्देशन दिएका छन् ।

यसअघि दलका नेता रहेका अभिराम शर्मालाई ज्यान मुद्दामा अदालतले सजाय गरेपछि प्रदेश सभाले निलम्बन गरिसकेको छ । शर्मा फरार सूचीमा छन् । तर ठाकुरले शर्मालाई नै दलको नेता कायम राख्न प्रदेश सभाका सभामुखलाई पत्राचार गरेका छन् । ज्यान मुद्दामा सजाय पाएर फरार रहेको अवस्थामा प्रदेश सभाबाट समेत निलम्बित सभासदलाई दलको नेता बनाउन ठाकुरले गरेको पत्राचार हास्यास्पद बनेको छ ।

जयनुल राइनको अध्यक्षतामा भएको संसदीय दलको बैठकमा सोनल, रमिता प्रधान र रमेश पटेल उपस्थित रहेका थिए ।लोसपाबाट मन्त्री बनेकी रानी शर्मा, उपेन्द्र महतो र रुपा यादव अनुपस्थित थिए । तर लोसपा नेपालका महासचिव परमेश्वर साहले प्रदेशसभाबाट नै नेता शर्मालाई कानुनी रुपमै हटाएपछि रिक्त पदमा नेता चयन गरिएको स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले कुनै व्यक्तिको उक्साहटमा सो विज्ञप्ति जारी गरेको आरोप लगाउँदै महासचिव साहले कानुनी रुपमै प्रदेशसभा सचिवालयले हटाएको ठाउँलाई रिक्त राख्नु नहुने भएकाले सो रिक्त पदपुर्ति गरिएको बताए । तर लोसपा नेपालकी नेतृ रानी कुमारी तिवारीले मनपर्दी रुपमा विना कुनै जानकारी संसदीय दलको नेता बन्नु गलत रहेको बताइन् ।

कुर्सीकै लागि मरिहत्ते गरेको आरोप प्रदेशसभा सदस्य जितेन्द्र सोनलमाथि लगाउँदै उनले पार्टीले उनलाई स्पष्टीकरण सोधेको समेत बताइन् । बारा निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सोनल लोसपाका मधेश प्रदेश अध्यक्ष पनि छन् । लामो समयदेखि खाली रहेको लोसपाको मधेश प्रदेश संसदीय दलको नेता सोनल नै रहेको महासचिव साहले दाबी गरे ।

दलको नेतालाइ राज्यमन्त्री सरहको सुविधा दिने गरिएको छ । सोनललाई अध्यक्ष ठाकुरले स्पष्टीकरण सोधेपनि मन्त्री समेत रहेका वरिष्ठ नेता शरतसिंह भण्डारीले समर्थन गरेका छन् । मधेश प्रदेशमा राइन र प्रधान भण्डारीका निकट छन् । लोसपाले महाधिवेशन गर्ने घोषणा गरेको बेला मधेश प्रदेशमा नै विवाद चुलिएको छ ।

Comment


Related News

Latest News

Trending News