अपडेट 
२०८१ आश्विन १, मंगलवार ०७:०७

मधेश केन्द्रित प्रमुख दलका अध्यक्षहरुको कारण पार्टी समस्याग्रस्त भएको छ । पार्टी अध्यक्षहरु नै विवादमा परेपछि पार्टी संकटमा फसेको छ ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत(सीके) गम्भीर प्रकृतिको पारिवारिक विवादमा फसेका छन् । उनले श्रीमती सोनी सिन्धु रानीसित सम्बन्ध विच्छेदका लागि ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि उनी विवादमा परेका छन् । उनले सम्बन्ध विच्छेद गर्न चाहेको कारणमा पत्नी सोनीको माइती प्रेमलाई प्राथमिकतामा दिएका छन् । तर पत्नी सोनीले आफू सम्बन्ध विच्छेद गर्न नचाहेको बताउँदै पति राउतले कयौं वर्षदेखि चरम् यातना दिँदै आएको बताएकी छन् । उनले कानुनी उपचारका लागि समेत पतिबाट निरन्तर असहयोग भइरहेको र माइत फर्किन दबाब दिइरहेको आरोप लगाएकी छन् । पति राउतले निरन्तर कुटपिट गर्ने, अनेक प्रकारको प्रताडना दिने र पटक पटक सम्बन्ध विच्छेदका लागि दबाब दिने आरोप लगाउँदै कुनै हालतमा सम्बन्ध विच्छेद नगर्ने रानीले बताएकी छन् । उनीहरुको तीन सन्तान छ । जनमत पार्टीका अध्यक्ष राउतले तीनै जना नाबालिग सन्तानलाई आफूसित राख्ने र पत्नीलाई पाँच मध्ये एक भाग अंश दिने सम्बन्ध विच्छेद पत्रमा उल्लेख गरेका छन् । राष्ट्रिय पार्टीका अध्यक्ष समेत रहेका सांसद राउतमाथि लागेको आरोपले पार्टीलाई समेत विवादमा तानेको छ ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी मनोनयन, कार्यकारिणी समिति र केन्द्रीय समिति चयनमा मनपर्दी गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले उजुरी दिएपछि महाधिवेशन अमान्य हुने संकट गहिरिएको छ । जसपा नेपालका अध्यक्ष यादवले पार्टीमा गरेको हैकमवादी प्रवृतिका कारण आन्तरिक रुपमा पनि भारी विरोध भइरहेको छ । कतिपय नेताले पार्टीबाट अलग्गिएको घोषणा गरिसकेका छन् । कतिपय नेताले अध्यक्ष यादवलाई साँढेसित तुलना गर्दै आलोचना गरेका छन् । पार्टीले थालेको चार महिने संगठन सुदृढीकरण अभियान औपचारिकतामा सीमित भएको छ । कहिँ कतै अभियानको नाममा बैठक भए पनि पार्टीमा कुनै बेला फेरि भू–क्षय जाने जोखिम देखिएको नेताहरु बताउँछन् ।

यता लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशको संसदीय दलका नेता चुनिएका जितेन्द्र सोनललाई कारबाही थालेका छन् । उनले सोनललाई स्पष्टीकरण सोधेपछि विवाद गहिरिएको छ । संघीय सरकारमा मन्त्री समेत रहेका वरिष्ठ नेता शरतसिंह भण्डारीको पूर्ण समर्थन पाएका सोनललाई चलाउँदा लोसपाले क्षति व्यहोर्नु पर्ने निश्चित छ । अध्यक्ष ठाकुरले छोरीलाई महोत्तरीबाट चुनाव लडाउने तयारी गरेकाले अभिराम शर्मालगायतका समर्थकहरुलाई खुशी बनाउन सोनललाई कारबाही गरेका हुन् । लोसपाले पनि पहिलो पटक महाधिवेशन गर्ने घोषणा गरेको छ । तर त्यसको तयारी सुरु गरिएको छैन । वैशाखमा महाधिवेशन गरिने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News