अपडेट 
२०८१ आश्विन १, मंगलवार ०७:१४

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले जनयुद्ध, मधेश आन्दोलनलगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि आफू सधैँ तत्पर रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार संयुक्त मधेश संघर्ष समितिको आयोजनामा भएको मधेश र संविधान संशोधनः हाम्रो खबरदारी विषयक खबरदारी सभामा बोल्दै पूर्वमन्त्रीसमेत रहेका यादवले वर्तमान सरकारले संविधानमा ग्यारेन्टी गरिएको आधा अधुरा अधिकार पनि खोस्ने षड्यन्त्र गरिरहेकाले सजग र सचेत रहनका लागि आग्रह गरेका छन् ।

मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालका इन्चार्जसमेत रहेको नेता यादवले आफू अहिले प्राप्त अधिकारका रक्षाका लागि लड्न र बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्न तयार रहेको बताए । उनले अधिकारको रक्षासंगै थप अधिकार प्राप्तिका लागि अघि बढ्नसमेत अपिल गरे । उनले मधेशमा संघर्षको नामबाट नेताहरु भाग्ने गरेको बताउँदै मधेश आन्दोलनको क्रममा नेताहरु पछिपछि र जनता अघि अघि रहेको स्मरणसमेत गरे । उनले मधेश र मधेशीको मुक्तिका लागि सचेत नरहँदा अहिलेको समस्या उत्पन्न भएको बताए ।

मधेशी नेताहरुलाई क्रान्तिकारी विचारको आत्मसात गर्नु आवश्यक रहेको भन्दै नेता यादवले यहाँ मञ्चमा बस्न र भाषण गर्न मात्रै मारामार गर्नु दुःखद रहेको बताए । उनले भने, मधेशमा व्यक्तिगत स्वार्थपुर्तिका लािग पदका लागि मारामार हुने गरेको छ, तर नेताहरु यहाँ विचारका लागि छलफल बहससमेत गर्नबाट डराउने गरेका छन् ।,’ उनले अघि थप्दैँ भने, ‘मधेशको मुक्तिका लागि आफू तत्पर छु ।’ सो खबरदारीसभामा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले सत्ताको झोलमा डुबेकाहरु अधिकार खोस्ने षड्यन्त्रमा रहेकाले देख्न नसकिरहेको आरोप लगाए ।

संविधानसभा सदस्यसमेत रहेका नेता लालले दुई ठूला दलको षडयन्त्रमा फसेकाहरु अहिले सत्ताको झोलमा रमाइरहेको बताए । अध्यक्ष लालले भने ‘सत्ताको झोलमा रमाईरहेकाहरुलाई त्यो झोलबाट निकाल्न हामी निकाल्न तयार छौँ, आउनुस निस्किनुस जनताको अधिकारको रक्षाका लागि लडौँ ।’ सो खबरदारीसभामा अध्यक्षता गरेका तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले राज्यको हरेक अंगमा समावेशीताको सुनिश्चितता, लोकतन्त्रमा समावेशी प्रतिनिधित्वका लागि निमित पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमांकनमा पहिचान आधारित सुधार, सबै संस्कृति र भाषाको सम्मान, समान अधिकारलगायतका विषयमा वर्तमान संविधानमा अग्रगामी संशोधनका निमित हामी संघर्ष गरिरहेका बताए ।

सो खबरदारी सभामा पूर्व राज्यमन्त्री बोधमाया यादव, नेकपा एकिकृत समाजवादीका नेता शीतल झा, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक जगतप्रसाद यादव, माओवादीका नेता महेन्द्र पासवान, नेपाल सद् भावना पार्टीका अध्यक्ष रामकुमार महतो, सो पार्टीका महासचिव पवन साह, तमलोपाकी विभा ठाकुर लगायतकाले बोलेका थिए ।

Comment


Related News

Latest News

Trending News