
जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा सहभागिता नजनाउने भएको छ । संविधान दिवसमा सहभागिता नजनाउने सार्वजनिक रुपमा अध्यक्ष यादवले संविधान जारी भएपछि गठन भएको संसदपछि पहिलो पटक धारणा व्यक्त गरेका छन् ।
विगतमा उनी संविधान दिवसको कार्यक्रममा सहभागी नभए पनि त्यसको विरोधमा अभिव्यक्ति दिने गरेका थिएनन् । पहिलो संसदीय निर्वाचनपछि मधेश प्रदेशमा जसपा नेपालको नेतृत्वमा सरकार गठन भएको थियो । संघीय सरकारमा अध्यक्ष यादव उपप्रधानमन्त्री बनेका थिए ।
आमनिर्वाचन पछिको पहिलो संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने र ब्लैक आउट गर्ने निर्णय जसपा नेपाल मधेश प्रदेश समितिले गरेको थियो । तर अध्यक्ष यादवले तत्कालीन प्रदेश अध्यक्ष रेणु यादवलाई स्पष्टीकरण सोधेर कारबाही गरेका थिए । यद्यपि प्रदेश सरकारमा सहभागी रहे पनि तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) नेपालबाट मन्त्री बनेकाहरुले ब्लैक आउट गर्दै चोकहरुमा भएको विरोध सभामा सहभागिता जनाएका थिए ।
राजपाबाट जसपा हुँदै लोसपा बनेको सो पार्टीले भने हरेक वर्ष संविधान दिवसको विरोध गर्दै आएको छ । लोसपाले यस वर्ष पनि कालो दिवसको रुपमा मनाउने तयारी गरिसकेको छ । लोसपाको सांगठनिक अवस्था कमजोर रहेकाले विरोध प्रभावकारी हुन सकेको छैन । तर संघीय र प्रदेश सरकारमा सहभागि रहेको सो दलले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइनु विद्रोहको संकेत रहेको मधेश प्रदेशका नेता चन्द्रकान्त ठाकुरले बताए । ‘उपेन्द्र यादव आफ्नो अनुकुलता अनुसार संविधानको विरोध र मौन रहने गरेका छन्’ उनले भने, संविधानको पूनर्लेखन गर्नुपर्ने भाषण गर्ने जसपा सरकारमा गएपछि चुप लाग्ने गरेको छ ।
जसपा नेपाल हाल संघीय र प्रदेश दुवै सरकारबाट बाहिर छन् । विगतमा अध्यक्ष यादव भारतमा गएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फेरबदल गरेका थिए । तर त्यसको लगत्तै उनी हटाइएका थिए । यस पटक पनि उनी विदेशमा रहेको बेला निवर्तमान प्रधानमन्त्री प्रचण्डले जसपा नेपाललाई विभाजन गरी उनलाई पदमुक्त गरेका थिए ।
जसपा नेपालका अध्यक्ष यादवले संविधान दिवसको विषयमा सार्वजनिक गरेको धारणालाई राजनीतिकर्मीहरुले मधेशप्रति गोहीको आँशु चुहाउन थालेको टिप्पणी गरेका छन् । जसपा नेपालका अध्यक्ष यादवले मधेश र मधेशीलाई पटक पटक धोका दिएको आरोप लगाउँदै वरिष्ठ राजनीतिकर्मी भरत विमल यादवले भने व्यक्तिगत स्वार्थ र पदका कारण मधेशलाई अनेकौँ पटक उनले धोका दिएका छन् ।
संगठनलाई चलायमान बनाउन नसके पनि महन्थ ठाकुर अडान लिने गरेको बताइन्छ । व्यक्तिगत स्वार्थ, नाताकुटुम्ब र हैकमवादी प्रवृत्ति भएका ठाकुरले नै पार्टी डुबाएको आरोप लागे पनि उनी संविधान दिवसलाई हालसम्म मौन समर्थन जनाएको बताइन्छ ।