रौतहटको कटहरिया नगरपालिका मेयर र उपमेयरसहित ११ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ ।
विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सबै प्रतिवादीलाई सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ असार २० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । स्थानीय तहको निर्वाचन भएपछि २०७९ जेठ १५ गते आफ्नो अध्यक्षतामा बैठक बसाई कटहरिया नगरपालिका– २ स्थित जमुनिया बजारमा सामुदायिक भवनमा टायल लगाउने काममा भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
अख्तियारमा मुद्दा दायर भएसँगै नगर प्रमुख, उपप्रमुख, दुई कार्यपालिका सदस्य, तत्कालीन कार्यालय प्रमुख र दुई कार्यपालिका सदस्यसहित केही कर्मचारीहरू निलम्बित भएका थिए । विशेषले सफाइ दिए लगत्तै उनीहरूको निलम्बन फुकुवा भएको छ । कटहरिया नगरपालिका– २ स्थित जमुनिया बजारमा रहेको एउटा सामुदायिक भवनमा आर्थिक वर्ष ०७८/०७९ मा टायलको कामको लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमानबमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो।
अख्तियारले अनुसन्धान गर्दा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसाभन्दा बढी भुक्तानी लिई–दिई भ्रष्टाचारजन्य कसुर गरेको दाबी अख्तियारले गरेको थियो । अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
सो मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह रहेका थिए ।
त्यस्तै योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएको दाबी गरिएको थियो ।



