जनता समाजवादी पार्टी(जसपा) नेपालको कार्यकारिणी समितिको बैठकमा व्यापक असन्तुष्टि देखिएको छ । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बुधवारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकमा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।
असन्तुष्ट रहेका उपमहासचिव प्रकाश अधिकारीले बैठक नै बहिष्कार गरेका छन् । बैठकमा सहभागी एकजना पदाधिकारीका अनुसार अधिकारीले बैठकमा अनुपस्थित भएर असन्तुष्टि जाहेर गरेका छन् । बैठकमा उपस्थित रहेका हरिनारायण यादवले अध्यक्ष यादवको व्यापक आलोचना गरे । उनले विधान विपरीत पदाधिकारी मनोनयन गरेको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरे । हरेक संकटको घडीमा पार्टीलाई जोगाउन अध्यक्षलाई साथ दिएको बताउँदै उनले भने, तर पार्टीमा नवप्रवेशीहरुको हालीमुहाली भएको छ ।
यादवलाई कार्यकारिणी समितिमा सीमित गरिएको छ । तर उनकै जिल्लाका नवप्रवेशीहरु रामकुमार शर्मा र सुरिता साहलाई क्रमशःमहासचिव र कोषाध्यक्ष बनाइएको छ । ‘महोत्तरी जिल्लामा पार्टीको कुनै कार्यक्रमको आयोजना गर्न नसक्ने र कुनै कार्यक्रममा आफू उपस्थित समेत हुन सक्ने वातावरण छैन’ उनको भनाइ उद्धृत गर्दै एकजना पदाधिकारीले भने, पार्टीमा आफू लामो समय बिताएर पनि नवप्रवेशीहरुको मुनी झारिएको छ ।
बैठकमा किशोरी यादव र शैलेन्द्र साह पनि अनुपस्थित रहेका थिए । तर उनीहरु बिहीबारको बैठकमा सहभागी हुने बताइएको छ । कार्यकारिणी समितिमा ३१ जना रहेका छन् । महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छैन । पार्टीको केन्द्रीय समिति, कार्यकारिणी समिति र पदाधिकारी चयन विधान विपरीत भएको आरोप लगाउँदै जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराइसकेका छन् । उनले विधान विपरीत अध्यक्ष यादवले मनपरी ढंगले गरेको सबै निर्णय बदर गर्न माग गरेका छन् । कार्यकारिणी समितिको बैठकमा यो विषयले प्रवेश नपाएको नाम सार्वजनिक गर्न नचाहने अर्का एकजना पदाधिकारीले बताए ।
तीन दिनसम्म चल्ने बैठकको पहिलो दिन असन्तुष्टहरुले आ– आफ्ना धारणा राखेको बताइएको छ । बिहान ११ बजे बैठक बस्ने भनिए पनि १२ बजेबाट सुरु भएको थियो । बैठकमा सहभागी रेखा यादव थापा अचानक मुर्छित भएकी थिइन् । उनी मुर्छित भएपछि स्टार अस्पताल पठाइएको थियो । त्यसपछि बैठक स्थगित गरिएको थियो ।
बैठकमा १० वटा एजेण्डा तय गरिएको छ । सहभागीहरुले बिहीबारदेखि बाँकी रहेका एजेण्डाहरुमाथि छलफल हुने छ । अध्यक्ष यादवले कार्यकारिणी समितिका सदस्यहरुलाई आक्रोश व्यक्त गर्न समय दिएको र अन्तिममा आश्वासन दिएर सन्तुष्ट पार्ने बताइएको छ । जसपा नेपालले संविधान दिवसको दिन जिल्लाहरुमा अन्तरक्रिया गर्ने कार्यक्रम राखेको छ । संविधानमा रहेको त्रुटिहरुको विषयमा छलफल गरिने बताइएको छ । गत वर्षसम्म संविधान दिवसमा मौन समर्थन जनाउँदै आएको थियो ।