राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज संविधान दिवसको विरोधमा सडक प्रदर्शन गरेको छ । ‘असोज तीन कालो दिन’ भन्दै सो पार्टीका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
सो प्रदर्शनमा सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि उनीहरुले विरोध गरेका छन् । प्रदर्शनपछि आयोजित सभामा अध्यक्ष महतोले संविधान पुनर्लेखनको माग गरेका छन् ।
महतोले एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर नेपाललाई बहुल राष्ट्रिय राज्यको रूपमा घोषणा गर्नु आवश्यक भइसकेको बताउँदै त्यसका लागि संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताए ।
२०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसीको छातीमा गोली ठोकिएको भन्दै उनले अहिलेको संविधान रक्तरञ्जित संविधान रहेको दावी गरे ।
सीमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रियसभामा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अधिकार सम्पन्न प्रदेश लगायतका माग आफूहरूले राखेको तर त्यसलाई बेवास्ता गरी संविधान जारी गरेको महतोले बताए ।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त अहिलेको संविधानमा नसमेटिएसम्म आफूहरूले संविधानको विरोध जारी राख्ने र असोज ३ लाई कालो दिनकै रूपमा सम्झिरहने उनले बताए ।