२०८१ आश्विन ४, शुक्रबार ०७:००

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)की पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा पुगेकी छन् ।

बिहीबार प्रहरी प्रभाग पुगेकी रानीको निवेदन प्रहरीले दर्ता गरेको छैन । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै रानीले ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा उजुरी दिदा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रहरीवृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले सोनी सिन्धु रानीले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जनाए । प्रहरी नायब उपरीक्षक भट्टरटाईले आदेश दिएको भने पनि रानीको निवेदन दर्ता गरिएको छैन् । भट्टराईले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’ प्रहरी प्रभागमा पुगेर आफू असुरक्षित भएको निवेदन दर्ता गर्न दिए पनि दर्ता नगरेको रानीले दुखेसो पोखेकी छन् ।

‘मलाई श्रीमान्ले अनेक प्रकारको धाकधम्की, ज्यानमार्ने धम्की र बच्चाहरुसित समेत अलग गरिदिने धम्की दिइरहेका छन्’ उनले भनिन्, आफूलाई असुरक्षित महसुस गर्दै मैले प्रहरीमा सुरक्षाका लागि दिएको निवेदन दर्ता गरिएको छैन । प्रहरीले अध्ययन गर्ने भन्दै शुक्रबार फेरी बोलाएको उनले बताइन् । डा.राउत र श्रीमती रानी एउटै भवनको छुट्टाछुट्टै तल्लामा बसिरहेका छन् ।

तीनै जना सन्तान पनि श्रीमती रानीसँगै बसिरहेका छन् । एक छोरा र दुई छोरी नाबालिग छन् । अध्यक्ष राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेको छ । राउतले पत्नी रानीसँग सम्बन्ध विच्छेदको माग गर्दै ललितपुर जिल्ला अदालतमा रिट दायर गरेका छन् । तर सिन्धु रानीले भने अहिले आफू श्रीमान राउतलाई छाड्ने मनस्थितिमा नरहेको बताइन् । ‘सन्तानहरु नाबालिग छन्, उनीहरुलाई आमा र बुवा दुवैको माया चाहिन्छ’ उनले भनिन् ,म अंश लिएर सन्तानलाई छाडेर अलग हुन सक्दिन । आफूलाई राउतले अमेरिकादेखि यहाँसम्म मानसिकदेखि विभिन्न किसिमले यातना दिने गरेको समेत उनले आरोप लगाइन् ।

ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार केहीदिनअघि अध्यक्ष राउतले श्रीमतीबाट असुरक्षा भएको भन्दै निवेदन दिएका थिए । उनले भने, ‘डा. साब (सीके राउत) ले श्रीमतीबाट असुरक्षित भए, सुरक्षा गरिपाउँ भनेर प्रहरी प्रभाग इमाडोलमा ३–४ दिन अघि नै निवेदन दिनुभएको हो,’ सुवेदीले अघि थप्दैँ भने, ‘उहाँको मेडम पनि सातदोबाटोमा सम्पर्क राख्न आउनुभएको छ । निवेदन त दर्ता भएको छैन, प्रहरी कार्यालयमा चाहिँ आउनुभयो ।’

राउतकी श्रीमती सिन्धु रानी वैवाहिक अंगीकृत नेपाली नागरिक हुन् । भारतको पुर्णिया जिल्लामा उनको माइत छ । प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News