२०८१ आश्विन ५, शनिबार ०७:३९

जनता समाजवादी पार्टी (जसपा) नेपालमा असन्तुष्टलाई फकाउन प्रमुख अतिथि र अतिथिको प्रावधानलाई हटाइएको छ । पार्टीमा नवप्रवेशीहरुलाई महत्वपूर्ण पद दिएपछि असन्तुष्ट बनेका पुराना नेताहरुलाई मञ्चमा बस्ने मर्यादाक्रम मिलाउन असहज भएपछि कार्यकारिणी समितिले सो प्रावधानलाई हटाउने निर्णय गरेको छ ।

पार्टी कार्यकारिणी समितिको शुक्रबार सम्पन्न बैठकले पार्टीको आन्तरिक कुनै पनि कार्यक्रममा प्रमुख अतिथि नरहने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जनाएका छन् । ‘कार्यक्रमको एकजनाले अध्यक्षता गर्ने र अर्का एकजना प्रमुख वक्ताको रुपमा रहने छन्’ उनले भने, प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतका प्रावधानहरु रहने छैन । त्यसको सर्कुलर चाँडै पार्टीको तल्लो निकायसम्म जानेछ ।

बैठकमा हरिनारायण यादवले मर्यादाक्रम अनुसार पार्टीको कार्यक्रममा आफू सहभागी हुन नसक्ने बताउँदै असन्तुष्टि जनाएका थिए । पार्टीमा नवप्रवेशी रामकुमार शर्मालाई महासचिव र सुरिता साहलाई कोषाध्यक्ष नियुक्त गरिएपछि यादव असन्तुष्ट बनेका छन् । कार्यकारिणी समितिमा भाग लिए पनि उनी धनुषा र वीरगञ्जमा भएको कार्यक्रम बहिष्कार गरेका थिए । उनीसँगै हिष्कार बगर्नेहरुको संख्या बढेको थियो ।

असन्तुष्टहरुलाई फकाउन अध्यक्ष यादवले पहल गर्ने छन् । असन्तुष्ट नेताहरुसित छलफल गरी उनीहरुलाई महत्वपूर्ण पद र जिम्मेदवारी दिने प्रतिबद्धता जनाएर भए पनि पार्टीमा ल्याउने प्रयास गर्न अध्यक्ष यादव जुटेका छन् । पार्टी भित्रको असन्तुष्टिको कारण झण्डै आधा दर्जन नेताले केन्द्रीय समिति, कार्यकारिणी समिति र पदाधिकारी चयन अवैधानिक रहेको प्रमाणसहित निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

निर्वाचन आयोगले जसपा नेपालको महाधिवेशनले गरेको निर्णय, नयाँ केन्द्रीय समिति, पदाधिकारी र कार्यकारिणी समिति सहितको अद्यावधिक गरेको छैन । स्रोतहरुका अनुसार जसपा नेपालको विधान र निर्वाचन सम्बन्धी ऐन विपरीत अध्यक्ष यादवले निर्णय गरेकाले अवैध हुने निश्चित छ । पार्टी भित्रको असन्तुष्टिको कारण चार महिने संगठन सुदृढीकरण अभियान नराम्ररी प्रभावित भएको छ । केन्द्रीय समितिका सदस्यहरुले नै कार्यक्रम बहिष्कार गर्न थालेका छन् ।

केही केन्द्रीय सदस्यहरु तटस्थ र केही केन्द्रीय सदस्यहरुले पार्टी परित्यागको तयारी गरिसकेका छन् । असन्तुष्ट नेताहरु मध्ये अधिकांश जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको सम्पर्कमा पुगेका छन् । त्यसका लागि खानेपानी मन्त्री प्रदीप यादव, महिला बालबालिका मन्त्री नवलकिशोर साह, महासचिव इस्तियाक राइ, सहअध्यक्ष रेनु यादव सक्रिय रहेको बताइन्छ ।

जसपा नेपाल अहिले संघीय र प्रदेश सरकार बाहिर छ । संघीय सरकारलाई समर्थन दिएको जसपा नेपाललाई सरकारमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीले ठाढै अस्वीकार गरिसकेका छन् । जसपा नेपाललाई ध्वस्त बनाउन सरकारले जसपाका नेताहरुलाई महत्वका साथ अगाडि बढाएको छ । कार्यकारिणी समितिको बैठकले अभियानको पर्यवेक्षण गर्न सात जनालाई खटाइएको छ । तर नेताहरुमा उत्साह नदेखिएको बैठकमा सहभागी एकजना पदाधिकारीले बताए ।

पार्टीको खाता अध्यक्ष यादव, कोषाध्यक्ष साह र एकजना सचिवको संयुक्त हस्ताक्षरमा खोलिने निर्णय गरिएको छ । पार्टीको विधानमा नै त्यस्तो प्रावधान राखिएको छ ।

Comment


Related News

Latest News

Trending News