
आरोह–अवरोह तथा समर्थन–विरोधबीच असोज ३ गते ९औं संविधान दिवस मनाइएको छ ।
अन्य वर्षहरु झैँ यस वर्ष पनि संविधान दिवसको अवसरमा कतै उत्साह त कतै निरासा देखियो । कतै उत्सव त कतै मातम पनि देखियो । मुलुकका दुई ठूला दलहरु क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरणबाट केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकारले संविधान संशोधनलाई प्रमुख कार्यभार बनाएकाले संविधानमा त्रुटिहरु छन्, यसमा सुधारको आवश्यकता छ भने पनि प्रमाणित भयो ।
समग्रमा भन्नु पर्दा नेपालको संविधान– २०७२ जारी गर्ने बेला नेपाली कांग्रेस र एमालेले दाबी गरे जस्तै यो संविधान सर्वमान्य र सर्वस्वीकृत रहेन छ । मधेशवादी दलहरुले त्यति बेला दाबी गरेजस्तै पुनर्लेखन गर्नु पर्ने अवस्था पनि रहेन छ । बरु पूर्वप्रधानमन्त्री तथा संविधान निर्माण समितिका सभापति डा.बाबूराम भट्टराईले भनेजस्तै आधा गिलास भरेको पानीजस्तै रै छ यो संविधान भने प्रमाणित भयो ।
अबको कार्यभार आधा खाली रहेको ग्लासलाई भर्नु हो । संशोधनमार्फत गरेर संविधानरुपी ग्लासलाई टन्न भर्नु पर्ने आवश्यकता हो भन्ने पनि बुझियो । माथि काठमाण्डुमा संविधान जारी भइरहँदा तराई—मधेशमा गोलीको वर्षा भइरहेको थियो । माथि खाल्टोमा दीपावली मनाइरहँदा तल ‘ब्ल्याक आउट’ थियो । कालक्रममा धेरै विषय मिल्दै गएको छ ।
अतिवादी दुबै शक्तिलाई आम जनताले चिन्दै गएका छन अनि सत्तालिप्साकै लागि भए पनि दुबै शक्ति मौका मौकामा मिल्दै र बिछुड्दै आएका छन् । राजनीतिक दलहरुको यस छेपारो प्रवृतिले आम नागरिक वाक्कदिक्क छन् । संविधान जारी भए यता सत्ता चलाएका कांग्रेस, एमाले र माओवादी पार्टीसंग सवाल सोध्न थालेका छन्– ‘९ वर्षसम्म संघीय शिक्षा, जनस्वास्थ्य, प्रहरी, निजामती कर्मचारी सम्बन्धी कानून नबनाई दिएर तिमीहरु संघीयता खोस्न खोजेका हौ कि ? मधेशवादी दलहरुसंग सोध्न थालेका छन्– ‘ संशोधन होईन, पुनर्लेखन गर्नु पर्छ भन्थ्यौँ, सत्तामा पुग्ने बितिकै सबै बिर्सियाँै ? सत्तामा हुँदा संविधान सेता हुने अनि सत्ता बाहिर जाने बितिकै कालो हुने ? यो कस्तो राजनीतिक सिद्धान्त पढेका हौँ, तिमीहरु ? संविधान दिवसको दिन सरकारी गाडीमा नेपालको झण्डा फहराउँदै शिव चोकसम्म आएर, गाडी फिर्ता पठाई कालो रिवन टाउकोमा भिडेर संविधान दिवसको विरोध गर्ने मन्त्रीहरुलाई पनि यस आँखाले देखेको छ ।
संविधान जारी भइरहँदा एमाले नेता कार्यकर्ताहरुलाई चोक चोकमा बहिष्कार गर्ने घोषणा गरेका नेतालाई अचेल केपी र प्रचण्डको मन्त्री मण्डलमा देखेको छ, यस आँखाले । संविधान संशोधनको हल्लाले राजावादी भनिएका राष्ट्रिय प्रजातन्त्रवादी पार्टी, संघीयता विरोधी राष्ट्रिय स्वतन्त्र पार्टीसंगै गणतन्त्र, संघीयता र धर्मनिर्पेक्षताको विरोधी कित्तामा उभिएका दल र नागरिक समाजलाई उत्साहित बनाएको छ । स्वराजको नारा दिएर राजनीतिमा आएको सीके राउत नेतृत्वको जनमत पार्टी सत्ताको घुम्ने कुर्सीमाथि बसेको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सत्तामा मातमा संविधान संशोधन र जनजीविकाको सवाल बिर्सेको छ ।
संविधान पुनर्लेखनको दुहाइ दिने उपेन्द्र यादवको जसपा नेपालको चुरिफुरी हराएको छ । लोकतान्त्रिक पार्टी कहाँ छ कुन्नी ? जनमत पार्टीका नेता सतीशकुमार सिंहको नेतृत्वमा गठित मधेश प्रदेश सरकार यस वर्ष औपचारिक रुपमै संविधान दिवस मनायो । प्रभातफेरीमा नेपाली कांग्रेस, एमाले सहभागी हुनु हर्ष बधाई गर्नु स्वाभाविक थियो, तर यस वर्ष जनमत र लोसपाले पनि संविधान दिवसको कार्यक्रममा सहभागी हुनु भनेको संविधान सेतै हो भनेर बुझ्न गाह«ो छैन । मुलुक संविधान दिवस मनाई रहेको बेला संविधानका मस्यौदाकारमध्येका डा.बाबुराम भट्टराईको विचार घत लाग्दो थियो । उनले भनेका छन्– ‘सरकारको स्थायित्वको लागि निर्वाचन प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नु पर्दछ ।’
उनले पूर्णसमानुपातिक तर निर्वाचित प्रतिनिधिसभा तथा विज्ञहरुको मन्त्रीपरिषद् हुने व्यवस्था गर्न पनि सुझाएका छन् । पहिलो संविधान सभाले पहिचानका पाँच र सामथ्र्यका चार आधारको सिद्धान्त अनुसार मुलुकलाई १० प्रदेशमा विभाजित गर्नु पर्ने कुरा बहुमतले पारित गरेको थियो । दोश्रो संविधान सभाले पहिलो संविधान सभाबाट पारित भएका विषयहरुको स्वामित्व ग्रहण गर्ने निर्णय गरे पनि कांग्रेस र एमालेको जोडबलले मुलुकमा पहिचान बिनाको सात प्रदेशको संरचना निर्माण गरिएको छ ।
डा. भट्टराई सात प्रदेशको संरचनामा जानु पर्ने अडान कांग्रेस र एमालेको रहेको पनि प्रष्ट पारेका छन् । संविधान जारी भएको पछिल्ला ९ वर्षमा कांग्रेस, एमाले, राप्रपासंगै मधेशवादी दलहरु र यीनका नेताहरुको लोकप्रियता घटेको छ । जसको प्रमाण हो– राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको उदय । पछिल्लो अढाई वर्षमा नयाँ पार्टीको प्रदर्शन पनि उत्साहजनक देखिएको छैन । समग्रमा भन्नु पर्दा समय अनुसार संविधानमा संशोधन गर्नु आवश्यकता हो भन्ने जनताले खोजे र रोजे अनुसारको नेता र राजनीतिक दलको आवश्यकता पनि उतिकै छ । संविधानमार्फत प्राप्त उपलब्धिहरुको सुरक्षा गरौं । अप्राप्तका लागि संघर्ष गरौं । संविधान दिवसको शुभकामना ।।