२०८१ आश्विन ८, मंगलवार ०७:११

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीमा देखिएको चरम असन्तुष्टिलाई सम्बोधन गर्न कार्यकारिणी समितिको संख्यालाई विस्तार गर्ने भएको छ । पार्टीको कार्यकारिणी समितिको सम्पन्न पहिलो बैठकबाट अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरुलाई सम्पर्क गरी कार्यकारिणी समितिमा राख्ने विश्वास दिलाउन थालेका छन् ।

जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी समितिको विषयमा चरम असन्तुष्टि छ । कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष यादवले बनाएको विभागमा गडबडी देखिएको छ । केही विभागमा प्रमुख राखिए पनि केही विभागमा सबै सदस्य राखिएको छ । वरियताको विषयमा विवाद देखिएको विभागमा प्रमुख राखिएको छैन ।

कार्यकारिणी समितिमा राखिनै पर्ने नेताहरु छुटेको स्वीकार्दै महासचिव लालबाबु राउतले भने, अध्यक्ष यादवको नेतृत्वमा नै त्यसका लागि समिति बनेको छ । समितिले कार्यकारिणी समितिको संख्या थप्ने राउतले बताए । ‘पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, लालकिशोर साह, प्रमोद साहलगायतका नेताहरुलाई कार्यकारिणी समितिमा समेटिनेछ ’ उनले भने, पदाधिकारी चयन प्रक्रियामा भएका कमीकमजोरीहरुलाई हटाइने काम थालिएको छ । ‘पार्टीमा असन्तुष्टि हुनु स्वभाविक नै हो’ राउतले भने, धेरै नेता भएको ठूलो पार्टीमा पद र मर्यादाक्रम मिलाउन केही समस्या आउनु अस्वभाविक होइन । त्यसलाई मिलाएर पार्टी अगाडि बढेको उनले दाबी गरे ।

निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व सांसद प्रमोद साह, लालकिशोर साहलगायतका नेताहरुको व्यवस्थापन हुन नसके पार्टीलाई ठूलो क्षति हुने देखिन्छ । पार्टी विभाजनको क्रममा सक्रिय भूमिका निर्वाह गर्नेहरुलाई उच्च पद दिएको आरोप अध्यक्ष यादवमाथि लागेको छ । अध्यक्ष यादवको कारण नै पार्टी विभाजित भएको र नेताहरुमा असन्तुष्टि बढेको आरोप सार्वजनिक रुपमा नै लगाउन थालिएको छ । जसपा नेपाललाई महाधिवेशनपछि सप्तरी र पर्सा जिल्लामा सर्वाधिक क्षति पुगेको छ ।

सार्वजनिक भएको विभागहरु मध्ये कयौंमा सदस्यहरु दोहरिएका छन् । एकै जनालाई दुई विभागको जिम्मेवारी पनि दिएको छ । जसपा नेपालका असन्तुष्ट नेताहरुलाई जनता समाजवादी पार्टी(जसपा) का नेताहरु पनि सम्पर्कमा छन् । त्यसले अध्यक्ष यादवलाई तनाव बढाएको बताइन्छ । जसपा नेपालका आधा दर्जन नेताले पार्टीको विधान विपरीत अध्यक्ष यादवले मनपरी ढंगले केन्द्रीय समिति, पदाधिकारी र कार्यकारिणी समिति गठन गरेको आरोप लगाउँदै त्यो अमान्य गर्न निर्वाचन आयोगमा उजुरी दर्ता गरेका छन् । त्यसले पार्टीका अधिकांश नेताहरु त्रासमा देखिएका छन् ।

निर्वाचन आयोगले पदाधिकारी, कार्यकारिणी समिति र केन्द्रीय समिति भंग गरिदिए गम्भीर समस्या आउने नेताहरुको चिन्ता छ । अध्यक्ष यादवले मिचेर गरेको कार्यलाई केही पदाधिकारी , कार्यकारिणी समिति सदस्यहरुले रुचाएका छैनन् । उनीहरुले प्रक्रिया पु¥याएर कमिटी विस्तार गर्नुपर्ने पक्षमा रहेका थिए । तर महासचिव राउतले निर्वाचन आयोगले वैधता प्रदान गर्नेमा विश्वस्त देखिएका छन् । ‘महाधिवेशनले दिएको अधिकार प्रयोगगरि िकमिटी गठन भएको छ’ उनले भने, यसमा निर्वाचन आयोगले बदर गर्ने सवाल नै उठदैन् ।

पार्टीमा निर्वाचन आयोगले यस सम्बन्धमा कुनै जानकारी गराएको अथवा माग नगरेको उनले बताए । निर्वाचन आयोगविरुद्ध जसपा नेपालका अध्यक्ष यादवले गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । मंसिर महिनामा पेशी तोकिएको छ । सर्वोच्चकौ फैसलाले पनि जसपा नेपालको संगठनात्मक रुपमा धेरै प्रभाव पारिने छ । संस्थापन पक्ष आफ्नो पक्षमा फैसला आउनेमा ढुक्क देखिएको छ । तर विभाजित भएर बनेको जसपाका नेताहरु सर्वोच्चबाट समेत मान्यता पाउने दाबी गरिरहेका छन् ।

Comment


Related News