२०८१ आश्विन ८, मंगलवार ०७:१४

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति, पारिवारिक सुख शान्ति तथा समृद्धिका लागि मनाइने जितिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

मिथिलाञ्चलमा नहाय खाय (नुहाएर खानु) पछि सोमबारदेखि सुरु भएको छ भने मंगलबार र बुधबार साँझसम्म निरहार, निर्जल बसी उपवास गर्नेछन् । मिथिलाञ्चलभर आज ओँगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत विधिवत रुपमा सुरु भएको छ ।

तिथिको हेरफेरअनुसार यसपाली मिथिलामा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि मंगलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छभने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चांगमा उल्लेख रहेको छ । व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवंगत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छ ।

त्यसैगरी मंगलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार, निर्जल व्रत बसेर बुधबार साँझ ५ः१५ बजेपछि व्रत सम्पन्न गर्नेछन् । हजारौँको संख्यामा व्रतालुहरुले नजिकको पवित्र सरोवर, नदी र जलाशयमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । व्रत बस्नु अघि व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र खरीसहित तेलले बनाइएका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ– आफ्ना शाखासन्तानलाई पनि प्रसादस्वरुप तेल लगाइदिने चलन छ ।

व्रतको पहिलो दिन पूजाआजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो )’ भनिन्छ । त्यस्तै धार्मिक विधिअनुसार मंगलबार एकाबिहानै काग कराउनुभन्दा पहिल्यै नै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओंगठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि निष्ठा, नियम, निर्जल र निरहार उपवासको क्रम मंगलबार बिहानदेखि बुधबार साँझसम्म बस्नुपर्छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ ।

Comment


Related News

Latest News

Trending News