नेपाली कांगे्रसका केन्द्रीय सभापति शेरबहादुर देउवा समक्ष किर्ते नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहलाई यथाशीघ्र कारबाही गर्न माग गरेका छन् ।
सरकारमा नेपाली कांग्रसकै गृहमन्त्री भएपछि वीरगञ्जका मेयरलाई किर्ते नागरिकता प्रकरणमा किन कारबाही नभएको भन्दै पार्टीका स्थानीय कार्यकताहरुद्वारा सभापति देउवासमक्ष माग गरेका छन् । पर्सा जिल्लाको पार्टी कार्यालय उद्घाटन गर्न वीरगञ्ज आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा समक्ष मेयर राजेशमान सिंह माथि यथाशीघ्र कारबाही गर्नका लागि कांग्रेस क्षेत्र– २ का सभापति मोहम्मद सहाबुद्दिनले माग गरे ।
किर्ते नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहसहित ३ जना विरुद्ध मुदा दर्ता गरे पनि लामो समय देखि कुनै कारबाही नभएकोमा स्थानीय कांग्रसी नेताहरुद्वारा बुधबार सभापति देउवा समक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । किर्ते नागरिकता सम्बन्धी प्रमाणहरु जिल्ला प्रशासन कार्यालय पर्साबाट दश लाखको लगतमा गायब गराउनु देखि अहिलेसम्म मन्त्री देखि स्थानीय प्रशासनको लागि किर्ते नागरिकता प्रकरण अनुचित लाभको ठूलो श्रोत भएको आरोप छ ।
मेयर विरुद्ध दर्ता भएको जाहेरीमा मेयर सिंहले अर्काकी छोरीलाई आफै बाबु बनेर नागरिकता बनाएको साथै सोही नागरिकता बनाउन पेश गरिएको जन्मदर्ता, सिफारिसलगायतको कागजात किर्ते गरेर नागरिकता बनाएको समेत उनीमाथि आरोप छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कार्तिक २० गते जन्मदर्ता बनाइ रूबिना श्रेष्ठको नागरिकता बनाएको भन्दै मेयर सिंह माथि उजुरी परेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको अभिलेखमा २०७५ साउन १३ गते नागरिकता लिएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिन्छ ।