
मधेस प्रदेश प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरूले वृत्ति विकासमा समान अवसर प्रदानका लागि अवसर माग गरेका छन् ।
मधेश प्रदेशको अर्थ मन्त्रालयका सचिव सुवाष चन्द्र शिवाकोटीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका छन् । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार लेखा समूहमा समायोजन भई कार्य गर्दै आएका कर्मचारीहरू भन्दा पछाडि नियुक्ति भएका सामान्य प्रशासन समूह र अन्य सेवा समूहका कर्मचारीहरू नवौँ तहमा बढुवा भइसकेका छन् । तर लेखा समूहका कर्मचारीहरू ज्येष्ठ भए पनि कनिष्ठ कर्मचारीहरूले वृत्ति विकासको अवसर पाउँदा लेखा समूहको वृत्ति विकास अन्योलमा रहेको भन्दै वृत्ति विकासले आफूहरूको मनोबल गिराएको लेखा अधिकृत जितेन्द्रप्रसाद यादवले बताए ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम मधेश प्रदेश प्रशासन सेवा, लेखा समूहमा समायोजन भइ उनीहरूले निरन्तर कार्य गर्दै आइरहेका छन् । मधेश प्रदेश निजामती सेवा ऐन, २०७७ बमोजिम प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन, राजश्व र लेखा गरी तीन समूह रहेका छन् । नियमावली, २०५९ बमोजिम प्रशासन सेवा लेखा समूहका कर्मचारीहरूलाई सहायकस्तर चौथो, सहायकस्तर पाँचौँ, अधिकृतस्तर छैठौँ, सातौँ, आठौँ र नवौँ गरी ६ वटा तहमा विभाजन गरिएको छ ।
लेखा समूहका कर्मचारीका लागि अधिकृतस्तर नवौँ तहमा एक मात्र दरबन्दी प्रदेश लेखा नियन्त्रक कार्यालयमा रहेको छ । सो पदमा मधेश प्रदेश लोकसेवा आयोगबाट हालसम्म पदपूर्ति भएको छैन । कोशी प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा (४) मा प्रशासन सेवा नवौँ तह र सो भन्दा माथिल्लो तहमा कुनै पनि समूह तथा उपसमूह नरहेकोले मधेस प्रदेशमा पनि सोही बमोजिम व्यवस्था गर्न उनीहरूको माग छ । उक्त मागलाई बेवास्ता गरिएमा अन्य दबाबमूलक कार्यक्रमहरू चरणबद्ध रूपमा गर्दै जाने उनले चेतावनीसमेत दिएका छन् ।
सो ज्ञापनपत्र नेपाल निजामती कर्मचारी युनियन, मधेश प्रदेश, नेपाल निजामती कर्मचारी संगठन, मधेश प्रदेश, मधेशी निजामती कर्मचारी मञ्च, मधेश प्रदेश र राष्ट्रिय कर्मचारी संगठन, मधेश प्रदेशलाई पनि बोधार्थ गरेको छ । सो ज्ञापनपत्र बुझाउनेमा लेखा अधिकृतहरु यादव, अमरदीप महतो, पुरुषोत्तम मिश्र, विजय चौधरी, लेखापालहरु सुशील यादव, अमर भुजेल, रामनरेश साह, फणिन्द्र ढुंगेललगायतका थिए ।