भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी नरहने बताएका छन् ।
संघीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकलाई एक साताभित्र खाल्टाखुल्टी रहित बनाइसक्ने दाबी उनले गरे । उनले देशभरि करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको जानकारी गराए । मन्त्री दाहालले चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति नहोस् भनेर दसैँ अगावै सडकका सबै खाल्टाखुल्टी पुर्ने लक्ष्य रहेको बताए । ‘‘दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिएको छ । चाडपर्वमा सवारी आवागमन चाप बढ्ने भएकाले सडकलाई खाल्टाखुल्टी नरहने गरी काम भइरहेको छ । त्यसमा हाम्रो जिम्मामा रहेका जति पनि सडकहरू छन्, त्यसको मर्मत सम्भार पहिलो प्राथमिकता राखेका छौँ ।,’’ उनले भने, ‘‘निर्माणाधीन सडकहरूको सन्दर्भमा ठेक्का पाएका निर्माण कम्पनीलाई बाटो सहज बनाउन निर्देशनसमेत गरिएको छ । त्यसमा सञ्चारकर्मीले पनि सकारात्मक कोणबाट सडकको अवस्थाबारे औँल्याएदिए सहयोग पुग्ने छ ।’’ मधेशको प्रसंग जोड्दै मन्त्री दाहालले मधेश समृद्ध नहुञ्जेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । देशको समृद्धि मधेशसँग जोडिएका बताउँदै उनले भने, “मधेशमा ठुलो संख्यामा जनताको बसोबास छ । यहाँको जनताको समृद्धि नै नेपालको समृद्धि जोडिएको विषय हो । त्यस कारण मधेशलाई व्यवस्थित बनाउनका लागि थुप्रै योजनाका कामहरू भइरहेको छ ।’’ हुलाकी राजमार्ग र रेल सेवा बिस्तारको काम भइरहेको उनको भनाइ छ ।
रेलमार्ग विस्तार र हुलाकी राजमार्गमा केही अवरोध र समस्यादेखि देखिएको उल्लेख गर्नुहुँदै मन्त्री दाहालले धनुषाको कमला नदीको पुलको अवलोकन गरी समस्या समाधानका उपाय खोजिने बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले मधेश देशको नै लाइफ लाइन रहेकाले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि मधेशलाई प्राथमिकतामा राखेको बताए ।
उनले जनसंख्या र उत्पादनको दृष्टिकोणले अब्बल रहेको मधेशका लागि वर्तमान सरकारले विभिन्न खालका मधेश केन्द्रित कार्यक्रम ल्याउन लागेको बताए । उनले त्यसका लागि स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गर्ने र छलफलकै आधारमा सरकारले आफ्ना मधेश केन्द्रित कार्यक्रम तय गर्ने जानकारी गराए । उनले मधेश सरकार पुरानै सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै हुलाकी राजमार्गको साथै मधेशका उतर–दक्षिण जोडने बाटोलाई प्राथमिकतामा राखेको बताए ।