अपडेट 
२०८१ आश्विन ११, शुक्रबार ०९:००

देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।

उदयपुर, सप्तरी, सिराहाका विभिन्न ठाउँमा ठूलो पानी परेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने खाडो खोला, बालन नदी, कोरिय नदी र अन्य ससाना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने सिहाली नदी, दोदा नदी र अरु ससाना खोलाहरूमा आकश्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाका अनुसार नारायणी,  कन्काई, कमला,  बाग्मती,  राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ  ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतवारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।

रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News