२०८१ आश्विन १६, बुधबार ०७:२९

पाँच वर्ष अघि बाढीले बगाएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित भारतीय बजार कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) अझै बन्न सकेको छैन । अस्थायी पुलका कारण सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । विशेष गरी वर्षायाममा जोखिम मोलेर सर्वसाधारण आउजाउ गर्न बाध्य भएका छन् ।

करिब ४० वर्ष अघि सहज आवतजावतका लागि स्थानीय र सीमावर्ती भारतीय कुनौली बजारका वासिन्दा समेत मिलेर सो खोलामाथि बासको फड्केबाट पुल बनाएर आवागमनको व्यवस्था मिलाएको थियो । पाँच वर्ष अघि आएको बाढीले सो अस्थायी पुल (चचरी) बगाएको थियो । तिलाठी कोइलाडी गाउँपालिका– १ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडिको खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिएको भएपनी भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन अध्यक्ष समेत रहेका मुख्यमन्त्री सतीशकुमार सिंहले बताए ।

उनले दुबै देशका नागरिकको सहज आवागमनका लागि त्यतिबेला बाढीले बगाएको अस्थायी पुल पुनर्निर्माणको प्रयास गरे पनि सीमा क्षेत्रमा तैनाथ भारतीय एसएसबी (सुरक्षाकर्मी) ले अवरोध गरेको बताए । मुख्यमन्त्री सिंहले आफू पालिका अध्यक्ष हुँदा बखत नै सो स्थानमा पुल बनाउने अथक प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले त्यतिबेला माथिको आदेश चाहियो भन्दै पुल निर्माण कार्यमा अवरोध गरे । उनले सो स्थानमा सहज आवागमनका लागि नेपाल–भारत मैत्री पुल निर्माण गर्ने आफ्नो योजना रहेको सुनाउँदै यसका लागि संघीय सरकारको समन्वयमा भारत सरकारसँग कुटनीतिक पहल भइरहेको स्मरण गरे ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले आफूले जिम्मेवारी सम्हालेपछि सो ठाउँमा पुल निर्माणका लागि प्राथमिकताका साथ लागे पनि भारतीय सुरक्षाकर्मीको अवरोधका कारण सफल हुन नसकेको लाचारी व्यक्त गरे । “मंगलबार सीमावर्ती भारतको कुनौली, कमलपुर र डगमारा ग्राम पञ्चायतका मुखियाहरु समेतको बैठक गरी पुल निर्माण बारे छलफल गरिएको छ, अध्यक्ष मण्डलले भने, “यसले पुल निर्माणको वातावरण बन्ने विश्वास लिएका छौँ ।” उनले बैठकमा दुबै देशका नागरिक अगुवाले पुल बनाउन आ–आफ्नो सरकारको ध्यानाकर्षण गराइ पहल गर्ने सहमति बनेको जानकारी समेत दिए ।

दशगजा क्षेत्रमा रहेको सो खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाहीलगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुँदा दुबै देशका नागरिकले सास्ती खेप्नु परिरहेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताए । सुख्खायाममा जसोतसो आवतजावत हुने गरे पनि वर्षायाममा जोखिम मोलेर आउजाउ गर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका– १ का रुपकान्त मिश्रको भनाइ छ ।

भारत–नेपालको सीमामा पर्ने कुनौली बजारमा सो क्षेत्रका जनता किनमेल, शिक्षा, उपचार, तिर्थाटन लगायत विभिन्न कार्यको क्रममा आवतजावत गर्न यही बाटो प्रयोग गर्दै आएका छन् । तर पुल नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै स्थानीयले अविलम्ब पुल निर्माणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News