मधेश प्रदेश सरकारले तीनवटा प्रादेशिक शौचालय बनाउने भएको छ ।
जनकपुरधाम सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत जनकपुरधाममा प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने तयारी थालिएको छ । तीन करोड रुपैयाँको लागतमा सो शौचालयहरू निर्माण गर्ने योजना बनाइएको मधेश प्रदेश सरकारले जनाएको छ ।
प्रादेशिक शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानको छनोट गर्ने कार्य भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको । सोका लागि अहिलेसम्म जनकपुरधामस्थित बसपार्क, राम मन्दिरको दक्षिणी स्थान र कभर्डहल तथा मणिपालको बीचमा जग्गा छनोट समेत गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
जानकी मन्दिर दर्शन गर्न तथा विभिन्न धार्मिक एवं सांस्कृतिक उत्सवमा सहभागी हुन आउने भक्तजनलगायतका लागि जनकपुरधाममा सुविधा सम्पन्न शौचालय नहुँदा निकै कठिनाइबाट गुज्रिनु परिरहेको गुनासाहरू आउन थालेपछि प्रादेशिकस्तरको शौचालय निर्माण गर्ने जनाइएको छ ।
मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधाममा शौचालयको निकै समस्या भइरहेकाले प्रदेश सरकारले तीनवटा शौचालय निर्माण गर्ने योजना बनाएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप शौचालय निर्माण गरिने बताए ।
त्यस्तै जनकपुरधाममै सांस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि जनकपुरधामको तिरहुतिया गाछीमा जग्गा छनोट गरिएको जनाइएको छ । खुला जिमसहितको पार्क निर्माणका लागि मधेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । जबकी तिरहुतिया गाछीमा जनकपुरधाम उपमहानगरपालिकाले समेत अत्याधुनिक शौचालन निर्माण गरेको छ । तर अहिलेसम्म सो शौचालय संचालन आउन नसकेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।