२०८१ आश्विन १८, शुक्रबार १२:०९

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत असोज ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला चार सय रूपैयाँ बढेको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News

Latest News

Trending News