सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधान सन्दर्भमा नेपाल र भारतले स्थायी समाधानको बाटो पहिल्याउनु पर्नेमा जोड़ दिइएको छ ।
नेपाल भारत खुल्ला सीमा संवाद समूहद्वारा जनकपुरधाममा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड़ दिँदै दुबैतिरको जनताको जनधनको सुरक्षाका लागि दुबै देशको सरकार गम्भीर हुनु आवश्यक रहेको बताए । वर्षायाममा हुने डुबान कटान , चुरे दोहन , अनियन्त्रित नदीका कारण निम्तिने समस्या समाधान गर्न दुबै देशले पहल गरी नागरिकको क्षतिलाई न्यूनीकरण गर्नु आवशयक रहेको सहभागीहरुले धारणा राखे ।
अव्यवस्थित बसोबास , चुरे दोहन , वन फडानी , नदीजन्य सामग्रीको उत्खनन् लगायतका क्रियाकलाप प्राकृतिक विपत् लाई आमन्त्रण गरिरहेको चर्चा गर्दै सहभागीरुले ढुबान , कटान समस्या समाधानका लागि ठोस नीति निर्माणको खाँचो औल्याए । सीमा वारिपारी बाढी तथा डुबानबाट बालीनालीको क्षति हुनुका साथै नागरिक विस्थापित हुनुपर्ने समस्या दोहारिरहेको सहभागीहरुले प्रसंग उल्लेख गरे ।
सहभागीहरुले कुनै पनि प्राकृतिक विपत्लाई रोक्न नसकिने भए पनि त्यसबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सजग हुनु जरुरी भएको बताए । प्राकृतिक रक्षा कवचहरुसँग खेलबाड गर्ने प्रवृत्ति जानु पनि विपत्को कारक तत्व रहेको बताउँदै उनीहरुले जलको स्वाभाविक निकासलाई बन्द गरिने क्रियाकलापका कारण पनि प्राकृतिक विपत्का घटना वर्षेनि बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराए ।
प्राकृतिक विपत्लाई राजनीतिक चश्माले हेर्नु हुँदैन भन्दै सहभागीहरुले भारतीय दूताबासले वस्तुगत रुपले समस्या समाधानको पहल गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । प्लाष्टिकजन्य सामग्रीले पनि नदीको बहावलाई अवरोध पु¥याउने गरेकोतर्फ सजग हुनु जरुरी रहेको बताउँदै सहभागीहरुले ढलमा प्लाष्टिकजन्य सामग्री थुपरिदै जानु पनि जलमग्न, बाढीको कारक भएको बताए । स्थानीय निकाय यी समस्याहरु गम्भीर नभएका कारण पनि वर्षेनि चुनौती थपिदै गएको बताउँदैँ सहभागीरुले सही सूचना नदिनु पनि घातक सिद्ध भइरहेको चर्चा गरे ।
नदी नियन्त्रण , डाइभर्सन , जलसतहको अध्ययन कार्यलाई प्रभावकारी बनाउनु आवश्यक रहेको चर्चा गर्दे सहभागीहरुले प्राकृतिक विपत्मा दुबै देशको सहयोग र सद्भावको अपेक्षा व्यक्त गरे । सीमावर्ती डुबान कटानजन्य समस्या समाधानका लागि दुबै देशका जलस्रोत सचिव स्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदलका बैठक बेलाबखतमा बस्दैआए पनि ठोस निकास निकाल्न नसकेकोमा सहभागीहरुले चिन्ता व्यक्त गरे ।
कुनै समयमा भारतीय नेता भोगेन्द झाले बाढी , डुबान , कटान समस्या समाधानका लागि नुनथर, चिसापानीमा डयाम निर्माणका योजना अघि सारेको स्मरण गर्दे सहभागीहरुले नेपाल भारत सीमा द्विपक्षीय सहकार्यको विधि बसाउनु आवश्यक रहेकोमा जोड़ दिए ।
समूहका प्रदेश अध्यक्ष श्यामकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवं पूर्वमन्त्री कृष्णा यादव, जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल समूहका केन्द्रीय अध्यक्ष राजीव झा, शिवशंकर साह हिरा, बिन्दु ठाकुर, प्रेमचन्द्र झा, श्यामसुन्दर शशि, कैलाश दास, रत्नेश्वर कर्ण, ललित झा, संजय चौधरी, जितेन्द्र महासेठ ,शत्रुधन साह, दीपक यादव मनोज चौधरी, रामजी राय, भूषण सिंह, जनकपुरधाम– ३ का वडाअध्यक्ष दीपेन्द्र साहलगायतले धारणा व्यक्त गरेका थिए ।