बडा दशैँको आगमनसंगै मिथिलान गरी जनकपुरधाम बेहुलीझैँ शृंगारिएको छ । चोक– चोकमा आकर्षक प्रवेशद्वारहरु निर्माण गरिएका छन् । पहिलेको भन्दा सफाईमा पनि सुधार भएको छ । राजदेवी मन्दिर, अमरखना माई, बौधि माई, पियरिया माई, सोनासत्तीलगायत शक्तिपीठहरुलाई विशेष शृंगार–पटार गरिएको छ । विद्यापति चोक, रामानन्द चोक, जीरोमाइल, पूल चोक आदी स्थानमा दुर्गा प्रतिमा निर्माण गरेर सविधिपूजा–पाठ र आराधना गरिँदैछन् ।
हो, श्रद्धालुको ओइरो लाग्ने राम मन्दिरको चारैतर्फ सडकमै खोल्न लगाइएको पटके पसलहरुले ‘रेशमके साडीमे तातका पैबन्द’ भएको छ । बट्टी उठाउने लोभमा युवा कमिटीहरुले यी पटके पसलहरु खोल्न दिएको गुनासो छ । यसले सहडको शोभा त बिगारेकै छ, ठूलो दुर्घटनाको कारण पनि बन्न सक्छ । शक्तिपीठहरुमा बिहानैदेखि लाग्ने दर्शनार्थीहरुको अटूट शृंखला अवेर रातिसम्म चल्छ । लाखौं श्रद्धालुको व्यवस्थापन गर्ने पूजा आयोजक श्रीरामयुवा कमिटी र महावीर युवा कमिटीका पदाधिकारी एवं स्वयंसेवकहरु बधाईका पात्र हुन् ।
बडा दशैँको अवसरमा आकर्षक दुर्गा प्रतिमा, ठूल्ठूला पण्डाल, झाड–फानुस, प्रवेशद्वार, भजनकीर्तन, भोज–भतेर, रंगारंग सांस्कृतिक कार्यक्रम तथा भीआईपी र भीभीआईपीहरुको सत्कारमा बाडिने चुनरी र फूलमाला आदीमा जनकपुरधामका युवा क्लवहरु झण्डै पाँच करोड खर्च गर्छन् । कृपया पाँच करोड भनिरहँदा अपत्यारिलो नमानिदिनु होला । जनकपुरधामका श्रीराम, महावीर र रामानन्द युवा क्लब मात्र झण्डै डेढ करोड खर्च गर्छन् ।
जनकपुरधाममा यस्ता दर्जनौं संघ संस्था छन् जो बडा दशैँको अवसरमा विशेष आयोजन गर्छन् । उनीहरुको खर्च पनि ५ लाखदेखि २० लाखसम्म हुन्छ । खर्चको जोहो स्थानीयसंग चन्दा, व्यावसायिक विज्ञापन र बोका बलीको आयबाट गरिन्छ । जनकपुरधामको सबभन्दा पुरानो राम मन्दिरको हाताभित्र अवस्थित राजदेवी मन्दिरको भौतिक संरचना पुरानो भइसकेको छ । छत चुहिने समस्या छ । पर्खालहरु भत्किँदै छन्, तर राजदेवी मन्दिर बाहिर लाखौंको लगानीमा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । यसवर्ष पनि लाखौं रुपियाँ खर्च गरेर भव्य पण्डाल तथा विद्युतिकरण गरिएको छ ।
बडा दशँैमा लाखौँ बजेट परिचालन गर्ने श्रीराम र महावीर युवा कमिटी श्रद्धालुहरुको जुत्ताचप्पल राख्ने स्टेण्ड सम्मको व्यवस्था गर्न सकेको छैन । बौधि माई मन्दिर र अमरखनामाई मन्दिरको अवस्था पनि लगभग यस्तै छ । मन्दिर बाहिर लाखौँ खर्चेर आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् ।
देवी चोकस्थित भगवति मन्दिर र अंगराज सरको पूर्वी डिलमा अवस्थित राजदेवी मन्दिरको सजावटमा पनि लाखौँ खर्च गरिएको छ । दशैँमा सर्वाधिक खर्च गर्ने युवा क्लवहरुमा राम युवा कमिटी, महावीर युवा कमिटी, रामानन्दयुवा कमिटी, बजरंग युवा कमिटी तथा विद्यापति कोष प्रमुख मान्छिन् । जनकपुरधामका युवा क्लबहरुले गर्ने यस खर्चलाई के भन्ने ? उत्पादक की अनुत्पादक ?? बडा दशैँ उपासना हो की उत्सव ? पछिल्ला केही वर्ष देखि यहाँका बौद्धिक समाजमा यो सवाल चर्चाको विषय बनेको छ ।
जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज कुमार साह वर्षापछि सुस्ताएको जनकपुरधाम बजारलाई बडा दशैँले उर्जा प्रदान गरेको बताउँछन् । तर सर सजावटको नाममा करोडौँ खर्च गर्नु अनुत्पादकखर्च भएको उनको तर्क छ । मेयर साहका अनुसार– असत्यमाथि सत्यको विजय भएको मानिने बडा दशैँको ९ दिनपर्व, उपवास, भक्ति, उपासना गर्नु पर्ने तथा विजय प्राप्त गरेको दिन अर्थात् विजया दशमीको दिन उत्सव मनाउनु पर्ने तर्क अघि सार्छन् ।
उपमेयर किशोरी साहले पनि पछिल्ला केही वर्षदेखि दशैँमा पूजा पाठ भन्दा तामझाम प्राथमिकता पाएको प्रतिक्रिया दिन्छन् । तर युवा कमिटीका वर्तमान र पूर्व पदाधिकारीहरु भने दशैँको अवसरमा साज शृंगारमा गरिने खर्चकै कारण जनकपुरधामको पर्यटन व्यवसाय बढेको प्रतिक्रिया दिन्छन् । उनीहरु दाबीका साथ भन्छन्– आफ्नो (मिथिला) संस्कृतिको संरक्षणमा युवा कमिटीहरुको अहम् भूमिका छ । हो, यी युवा कमिटीहरुकै मिहिनेतका कारण जनकपुरधामको बडा दशैँ नेपालकै सबभन्दा आकर्षक दशैँ बनेको हो ।
थोर बहुत पर्यटक पनि आउन थालेका छन् । तर म विनर्मतापूर्वक सोध्न चाहन्छु– आफ् नो संस्कृतिमा भगवतीसंग सम्बन्धित हजारौँ लोकगीत हुँदाहुँदै ‘माता ने बुलाया है……।’ गीत बजाउँनुको अर्थ के हो ? ठूल्ठूला मेला, धार्मिक, राजनीतिक तथा सांस्कृतिक जमघटहरुमा भगदड मचेको र अनेकौ व्यक्तिले अनाहकमा ज्यान गुमाएको घटना हामी सबैले सुनेकै छौँ । हजारौँलाखौँको जमघट हुने स्थानमा भगदड हुनु, बिजुली सर्ट हुनु वा खाने पानी वा प्रसादको लागि हल्लाखल्ला हुनु स्वाभाविक हो ।
आयोजक तथा स्थानीय प्रशासन सम्भावित यस्ता दुर्घटना रोक्नपूर्व तयारी गर्छन् । पूर्व तयारीको पहिलो सर्तको खुल्ला स्थानको व्यवस्था गर्नु । भगदड वा अन्य कुनै दुर्घटना हुँदा सर्वसाधारण खुला स्थानमा भागेर ज्यान जोगाउन सक्छन् । तर बडा दशैँको व्यवस्थापन गर्ने युवा कमिटीहरुले राम मन्दिर अगाडिको पुरानो पार्कमा ठुलो पिङ संचालन गर्न लगाएका छन् ।
बोधि माई मन्दिरको सानो चौरमा पनि खेल तमासा लगाइएको छ । यसबाट कमिटीहरुले केही आम्दानी त गर्न सक्छ, तर कथंकदाचित कुनै दुर्घटना भयो भने श्रद्धालुको ज्यान भने जोगाउन सक्दैनन् । स्थानीय प्रशासनले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्ने हो । जे भए पनि जनकपुरधामका युवाहरुको परिश्रमले यहाँको बडा दशैँ, छठ तथा गणेश पूजा जगजियार भएको छ, तर यो नेपाल र मधेश सरकारको लागि कुनै अर्थ राख्दैन । जनप्रतिनिधिहरु दशैँमा शक्तिपीठहरुमा दर्शन गर्न आउँछन् ।
युवा कमिटीहरुले निर्माण गरेको मञ्चमा विराजमान भएर चुनरी र फूलमाला थाप्छन् अनि अ–आफ्ना घर फर्किन्छन् । जनकपुरको बडा दशैँलाई पर्यटन बोर्डको पर्यटकीय गन्तव्यको रुपमा सूचीमा सूचीकरण गराउन जोडबल गर्दैनन् । मधेश प्रदेश सरकार जनकपुरधामसहित मधेश प्रदेशका पर्यटकीय गन्तव्यबारे सही योजनासम्म बनाउन सकेको छ