सीमा नाकामा सशस्त्र प्रहरीले एक सय १६ वटा सहायता कक्ष अर्थात् हेल्प डेस्क सञ्चालन गर्ने भएको छ ।
मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै सहज र सुरक्षित आवागमनका लागि सीमा नाकामा सहायता कक्ष स्थापना गर्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।
एक सय १६ मध्ये ६६ वटा स्थापना भइसकेको र अन्य ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
चाडपर्वका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने नागरिकलाई सहज र सुरक्षित ढङ्गबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने उदेश्यले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष राखिएको उहाँको भनाइ छ ।
सुरक्षासँगै, सीमा क्षेत्रमा हुने अबैध गतिविधि, चोरीडकैती, लुटपाट जस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क महत्वपूर्ण हुने अपेक्षा गरिएको सहायक प्रवक्ता थापाले बताउनुभयो ।
उहाँका अनुसार इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा गरी ८ ठाउँमा पर्यटक सहायता कक्ष स्थापना गर्ने तयारी छ ।