नेपालबाट भारतमा सुन तस्करी हुने क्रम बन्द भएको छ । भारतमा सुनको भाउ सस्तिएपछि नेपालमा भारी परिमाणमा सुन तस्करी हुन थालेको छ ।
वर्षौदेखि सुनचाँदी तस्करीको हव जनकपुरधाम रहँदै आएको छ । तर अधिकांश समय नेपालबाट नै भारतमा सुन तस्करी भएर जाने गरेको थियो । भारत सरकारले सुनमा लाग्ने भन्सार लगायतका करमा छुट दिएपछि अहिले उल्टो भारतबाट नै नेपालमा सुन तस्करी भएर आउन थालेको छ ।
भारतमा २४ कैरेट सुनको आइतबारको दर अनुसार प्रति तोला १ लाख ५८ हजार २ सय ८० रुपैयाँ नेपाली रहेको छ । नेपालमा काठमाण्डुको बजारमा सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ९ सय ९८ रुपैयाँमा कारोबार भएको हो । यो खुद्रा मूल्य हो । जनकपुरधामबाट नेपाल र भारतमा सुन तस्करी हुने गरेको लामो समयदेखि नै हो ।
नेपालबाट भारतमा सुन तस्करी हुने बेला चीनबाट भारी परिमाणमा सुन तस्करी भएर नेपाल हुँदै भारत जाने गरेको थियो । त्यस बखत पनि जनकपुरधाम सुन तस्करीको हव नै थियो । जनकपुरधामको मार्गबाट हुने सुन तस्करी सर्वाधिक सुरक्षित मानिन्छ । शनिबार हेटौँडा प्रहरीले बरामद गरेको सुन जनकपुरधामको मार्गबाट नै पुगेको थियो ।
भारतबाट सुन तस्करी गरी जनकपुरधाममा सुरक्षित गर्ने र अनुकूल समयमा गन्तव्यसम्म पु¥याउने गरेको एक जना सुरक्षाकर्मीले बताए । चिनियाँ सुन भारत पठाउँदा पनि जनकपुरधाममा कहिले पनि प्रहरीले फेला पार्न सकेनन् । अहिले भारतबाट आउँदा पनि प्रहरीले सुन देख्दैनन् । १ बोरा चिनी, दुई बोरा चामल, १ बोरा दाल बरामद गर्ने प्रहरीले साढे ११ करोड बढी मूल्यको सुन हेटौँडा पुग्दा सुइको समेत पाएनन् ।
मधेश प्रदेशका धनुषाबाट सुन तस्करी अत्यधिक हुने गरेको सुरक्षा अधिकारीहरुको स्वीकारोक्ति छ । सप्तरी, सिरहा, रौतहट र बाराबाट हरेक प्रकारको सामग्री तस्करी हुने गरेको बताइन्छ । महोत्तरी र सर्लाही जिल्लाबाट लागूऔषध गाँजाको तस्करी सर्वाधिक हुने गरेको छ । तस्करी र हुण्डीका लागि पर्सा जिल्ला मधेश प्रदेशमा सबैभन्दा माथि छ ।
हेटाँैडामा हप्ता दिन भित्रै १४ करोडको हाराहारीमा सुन बरामद भएको छ । हेटौँडा प्रहरीले बरामद गरेको सुन जनकपुरधाम र वीरगञ्जको बाटो भएर गएको थियो । प्रहरी स्रोतका अनुसार जनकपुरधामबाट अत्यन्त सुरक्षित रुपमा सुन देशको विभिन्न भागमा पु¥याइने गरिएको छ । तर जनकपुरधामपछिको हव हेटौँडा नै रहेको बताइन्छ । सुनचाँदीको कारोबार गर्ने केही व्यवसायीहरुको अस्वभाविक प्रगतिको कारण निरन्तर सुन तस्करी रहेको बताइन्छ ।
सुनचाँदी बजारमा पसल सञ्चालन गरेको देखिए पनि केही व्यवसायी मुख्यरुपमा तस्करीमा संलग्न रहेको स्रोतहरुले जनाएका छन् । बाढी र पहिरोका कारण देशैभरिको राजमार्ग क्षतिग्रस्त रहेको बेला पनि सुन तस्करहरुले तस्करीको परिमाणलाई बढाएका छन् । १ किलो सुनमा ५ लाख रुपैयाँसम्मको मुनाफा हुने भएकाले तस्कर हरुको सक्रियता बढेको छ ।
दशैँ तिहारको बेला पहाडी जिल्लाको सहरहरुमा सुनको विक्री अत्यधिक हुने गरेको बताइन्छ । दशैँको मौकाछोपी तस्करहरुले भारतबाट भारी परिमाणमा सुन नेपाल ल्याउने गरेका छन् । भारतबाट सुन नेपाल आउन थालेसँगै भारतीय मुद्राको सीमावर्ती क्षेत्रमा भाउ बढेको छ । नेपालबाट भारतमा सुन तस्करी भएर जाँदा भारतीय म्ुद्राको भाउ खसेको थियो । व्यवसायीहरुका अनुसार सुन तस्करीले सीमा क्षेत्रमा मुद्राको दर निर्धारण हुने गरेको छ । थोकमा प्रति तोला ६ हजार रुपैयाँको फरक रहेको व्यवसायीहरु बताउँछन् ।
भारतको भन्दा नेपालमा सुनको मूल्य प्रति तोला ६ हजार रुपैयाँसम्मको हाराहारीमा भारतको भन्दा बढेको व्यवसायीहरुले जनाएका छन् । भारतमा सुन सस्तिएपछि नेपालमा आउने भारतीय ग्राहकहरु रोकिएको उनीहरु बताउँछन् । नेपालमा सुन सस्तो भएको बखत भारतीय सीमावर्ती क्षेत्रका वासिन्दाहरु नेपाली बजारमा सुन किन्न आउने गर्थे । सस्तो र गुणस्तरको ग्यारेन्टी हुने भएकाले भारतीयहरु नेपाली बजारमा सुन खरिद गर्थे । तर अहिले भारतीय बजारमा नै सुन सस्तो र गुणस्तरको ग्यारेन्टीका साथ विक्री हुन थालेपछि ग्राहकहरु आउन छाडेको उनीहरुको कथन छ ।