अपडेट 
२०८१ आश्विन २३, बुधबार ०८:२५

सत्ता गठबन्धनका मुख्य साझेदार नेपाली कांग्रेस र नेकपा एमाले वीरगञ्जमा आमने सामुने भएको छ ।

कांग्रेसले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको माग गरेको छ । त्यस विरुद्ध एमालेले कांग्रेसका नेता सुदर्शन आचार्यमाथि कारबाहीको माग गरेको छ ।

एमालेले वडा सदस्यमाथि संघातिक आक्रमण गर्ने लामिछानेमाथि पनि कारबाही हुनुपर्ने माग गरेका छ । लामिछाने वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ का बुथ समिति सभापति हुन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ मा डुबानमा परेका स्थानीयहरुले पानीको मुहान खोलाउन पहल गर्न महानगरपालिकालाई गुहारेपछि विवाद चर्किएको छ ।

नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाका मेयरमाथि कारबाहीको माग गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसंग मेयर राजेशमान सिंहलाई कारबाही गर्न माग गरिएको हो । कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले जारी गरेको विज्ञप्तिमा मेयर सिंहमाथि कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरिएको हो । ‘पानीको निकासको विषयलाई लिएर महानगरपालिकाको वडा नम्बर १७ अलौंमा मेयर राजेशमान सिंहको नेतृत्वमा पुगेको टोलीले स्थानीय कांग्रेसीजनसंग गरेको दुव्र्यवहार र कुटपिटको घटनाको भत्र्सना गर्दछु’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘घटनाको निष्पक्ष छानबिन गरिनु पर्छ ।’ प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नगर वडा समितिका सभापति शिवओम लामिछानेसंग हातपात गरी बुजुर्ग नागरिकमाथि अभद्र व्यवहार गरिएको र उनको छोरा सुदर्शन लामिछानेलाई नगर प्रहरीले अराजक शैलीमा कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेका पर्सा घोर निन्दा गर्नुका साथै खेद प्रकट गर्दछ ।’ अतः घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारबाही गर्न स्थानीय प्रशासनसंग जोडदार माग विज्ञप्तिमा गरिएको छ ।

नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीका नातेदार र पुरानो कांग्रेसी घरानीया लामिछाने परिवार माथि मेयर सिंहले गरेको दुव्र्यवहारको घटनाले नेपाली कांग्रेस पर्सामा आक्रोश बढ्दै गएको छ । वडा नम्बर १७ मा सोमबार भएको घटनालाई लिएर मुलुककै आर्थिक लाइफलाइनको रुपमा रहेको अलौँमा अवस्थित आईसीपी भन्सार कार्यालय (सुख्खा बन्दरगाह) अगाडि मंगलबार स्थानीयले टायर बालेर विरोध प्रदर्शन समेत गरे ।

कांग्रेसले गरेको मागको विपरीत एमालेले कांग्रेसका नेता लामिछानेमाथि कारबाही गर्नुपर्ने माग गरेको छ । एमालेले मंगलबार जारी गरेको विज्ञप्तिमा सबै समस्याको समाधान छलफलबाट गर्न माग गरिएको छ । एमालेका महानगर समतिका सचिव सुन्दर प्रसाद कुर्मीले विज्ञप्ति जारी गर्दै वडा सदस्य आमोद यादवमाथि सुदर्शन लामिछानेले गरेको संघातिक आक्रमणको घोर भत्र्सना गरेका छन् । सो विज्ञप्तिमा यादवमाथि आक्रमण गर्नेहरुलाई अबिलम्ब पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।

मेयर सिंहले पानीको मुहान खोलाउन चासो लिएर स्वयं जाँदा लामिछाने लगायतका व्यक्तिहरुले आक्रमण गरेको सचिव कुर्मीले जनाएका छन् । डुबानमा परेकाहरुको समस्या समाधानका लागि पहल गर्दा आक्रमण गर्नु दूर्भाग्यपूर्ण रहेको उनले बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएका सबै चारै जनालाई सोमबार अबेर राति नै रिहा गरिसकेको छ । दशैँको बीच आइसकेकाले तत्कालका लागि विवाद मत्थर भए पनि दशैँ लगत्तै चर्किने सम्भावना छ ।

कांग्रेसले मेयर सिंहमाथि कारबाही नगरिए दशैँपछि गृहमन्त्री रमेश लेखक समेतको पुत्ला दहन गर्दै आन्दोलन चर्काउने बताएको छ । स्थानीय चुनावमा कांग्रेस र जनता समाजवादी पार्टी( जसपा)नेपाल संयुक्त रुपमा चुनाव लडेको थियो । मेयर सिंह हाल जसपा नेपाल छाडेर हाल जनता समाजवादी पार्टी( जसपा)रोजेका छन् । उनलाई एमालेले साथ दिँदै आएको छ ।

नागरिकता सम्बन्धी मुद्दामा पनि एमालेले मेयर सिंहलाई बचाउ गर्दै आएको छ । कांग्रेसले मेयर सिंहमाथि नागरिकता किर्ते मुद्दामा कारबाही गर्नुपर्ने आन्दोलन नै चलाएको छ । तर प्रहरीले सो मुद्दालाई अगाडि बढाएको छैन । मेयर सिंहको बचाउ र समर्थनमा कांग्रेस र एमाले आमने सामुने भएपछि दशैँपछि विवाद फेरि चर्किने बताइन्छ । डुबानमा परेकाहरुको समस्या समाधान हुन सकेको छैन । तर कांग्रेस र एमालेले डुबानलाई ओझेलमा पारेर मेयरमाथि र लामिछानेमाथि कारबाहीको माग लिएर अगाडि आएका छन् ।

Comment


Related News

Latest News

Trending News