अपडेट 
२०८१ आश्विन २३, बुधबार ०८:३५

केही साता अघि वर्षाले गर्दा आएको बाढीपहिरो तथा डुबानका कारणले मधेश प्रदेशमा सिँचाइ तथा तटबन्धतर्फ करोडौँको क्षति भएको छ ।

मधेश प्रदेशको विभिन्न जिल्लामा आएको बाढीले सिँचाइ, खानेपानी एवं तटबन्धतर्फ ७४ करोड रुपैयाँ बढीको क्षति भएको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले जनाए अनुसार प्रदेशका ८ वटा जिल्लामा ७४ करोड ९५ लाखको क्षति भएको जनाएको छ । विभिन्न जिल्लामा रहेको जिल्ला विपत व्यवस्थापन समितिले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी क्षति रौतहट जिल्लामा क्षति भएको छ ।

रौतहटको बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलामा आएको बाढीले १९ करोड ५० लाख रुपैयाँको सिँचाइ तथा नदी कटान सहितको क्षेत्रमा क्षति भएको जनाइएको छ । यसका साथै दोस्रो बढी क्षति सप्तरी जिल्लामा भएको छ । सप्तरीको बलान, त्रियुगा, महुली सहितका नदिमा आएको बाढीले १२ करोड ८० लाख रुपैयाँको क्षति भएको छ ।

सर्लाही जिल्लामा बागमती, लखनेही सहितका आधा दर्जन नदिमा आएको बाढीले ९ करोड २५ लाख रुपैयाँको क्षति भएको छ । त्यस्तै तटबन्ध तथा नहरको अवस्थाबारे ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको नेतृत्वमा मन्त्रालयका प्राविधिक सहितका उच्च अधिकारीहरुले स्थलगत रुपमा अनुगमन गरेर क्षतिको बारेमा जानकारी लिएका छन् ।

सो क्षति भएको संरचनाहरूको तत्काल मरम्मतका लागि प्रदेश सरकारले ८ करोड रुपैयाँ निकासा गरेको छ । सोको थप कामका लागि संघीय सरकारसंग समन्वय गर्ने काम भइरहेको सिँचाइ मन्त्री यादवले बताए ।

Comment


Related News

Latest News

Trending News