वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको माग गर्दै तेश्रो दिनदेखि रिले अनशन गरिएको छ । स्थानीय प्रशासनसंग मेयर राजेशमान सिंहलाई कारबाही गर्न माग गर्दै सोमबार देखि अलौँवासीले रिले अनशन थालेका छन् ।
मेयर राजेशमान सिंहले सोमबार स्थानीयसंग गरेका अभद्रता, गुण्डागर्दी शैलीको विरोधमा अलौँवासीले तेश्रो दिन पनि रिलेअनसनलाई जारी राखेका छन् । वीरगञ्जको मेयरको गुन्डागर्दी र अभद्र व्यवहारविरुद्ध सोमबारदेखि थालिएको रिलेअनशनमा नेपाली कांग्रसका संघीय मन्त्री लगायत स्थानीय एमालेका नेताहरु समेत एक्यबद्धता जनाएका छन् ।
बुधबार बिहान रिले अनशनमा पुगेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले घटनाको बारेमा सबै जानकारी लिएका छन् । मन्त्री चौरसियाले नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र नभइ कुनै पनि ज्येष्ठ नागरिकसंगको अभद्र व्यवहार गलत भएको बताए ।
सो घटनाको बारेमा जानकारी लिनुका साथै रिले अनशन स्थलमा पुग्नु भन्दा पहिला डुबान क्षेत्र समेतको निरीक्षण मन्त्री चौरसियाले गरेका थिए । सयौँ विघा डुबानमा परेको बहुअरी, आठराहा ,श्रीसिय र सुगौली आफ्नो संसदीय क्षेत्र भएकोले पनि समस्याबारे आफू चिन्तित रहेको बताउँदै समाधानको लागि सबैसंग छलफल समेत गरेको मन्त्री चौरसियाले बताए ।
अलौँलगायत समस्याग्रस्त चारवटा वडा अध्यक्षहरुसंग सम्वाद गर्दै डुबानक्षेत्रको पानि निकासको लागि सकारात्मक पहल भएको उनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाको सयौँ विघा जग्गा डुबानमा परेका स्थानीयहरुले पानीको मुहान खोलाउन पहल गर्न महानगरपालिकालाई गुहारेपछि विवाद चर्किएपछि कुटाकुट भएको थियो । त्यसपछि मयेर राजेशमान सिंहले कांग्रसीजनसंग गरेको व्यवहारको चौतर्फी विरोध भएको छ ।
नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीका नातेदार र पुरानो कांग्रेसी घरानिया लामिछाने परिवारमाथि मेयर सिंहले गरेको दुव्र्यवहारको घटनाले नेपाली कांग्रेस पर्सामा आक्रोश बढ्दै गएको छ । रिले अनशनमा दिउँसो पुगेका सविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले नेपाली कांग्रसका बुथ समिति अध्यक्ष एवम् ज्येष्ठ नागरिक शिवहरिओमसंग मेयर राजेशमान सिंहले गरेको उच्छृंखल व्यवहार अशोभनीय भएको बताउँदै सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन जारी राख्ने बताए ।
नेपाली कांग्रेस पर्साको पूर्व सभापति अमात्यले रिले अनशनलाई समर्थन गर्दै भने, ‘मेयर राजेशमानले गरेको अभद्र व्यवहार अशोभनीय छ, उसले माफी त माग्नै पर्छ र कुटपिट गर्ने उसको मान्छेलाई कारबाही हुनैपर्छ ।’