अपडेट 
२०८१ आश्विन २५, शुक्रबार ११:३९

नेपाली क्रिकेट टीम लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टीम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन् ।

डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि होल्डमा छ । टीमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो । उनी पासपोर्ट फिर्ता लिएर क्यानडा उडेका थिए ।

सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बतायो । महान्यायाधिवक्ता कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेकाले दूतावासले अब तत्काल भिसा दिनसक्ने स्रोतको दाबी छ ।

नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग २ का ४ खेल खेल्नेछ । यसअघि क्यानाडामा तीन खेल हारेको नेपालका लागि यो श्रृंखला निकै महत्त्वपूर्ण छ । अमेरिका र क्यानडा दुवै नेपालका लागि बलिया प्रतिस्पर्धी हुन् । यो प्रतियोगितामा नेपाल प्रमुख स्पिनर सन्दीपलाई मिस गर्न चाहँदैन ।

दूतावासले भिसा दिएमा सन्दीप दशैँ मनाइसकेर अमेरिका उड्नेछन् ।

Comment


Related News

Latest News

Trending News