अपडेट 
२०८१ आश्विन ३०, बुधबार १५:५४

सर्लाहीको कविलासी नगरपालिकामा विभिन्न १३ बुँदे माग राख्दै जनता समाजवादी पार्टी नेपालले आज ज्ञापन पत्र बुझाएको छ ।

कविलासी नगरपालिकाका मेयर ब्रम्हदेव रायलाई जसपा नेपालले विभिन्न विषयमा आफ्नो आपत्तिसहित ज्ञापन पत्र बुझाएको हो । जसपा नेपाल कविलासीका अध्यक्ष रामसिंहासन पटेलले हस्ताक्षर गरेको उक्त पत्रमा सेवा प्रवाहमा देखिएको ढिलासुस्ती अन्त्य गर्न, नगरभित्र कार्यरत शिक्षक लगायत सम्पूर्ण कर्मचारीको पारिश्रमिक एवं तलब, भत्ता समयमा उपलब्ध गराउन, सार्वजनिक जमिनको अतिक्रमण र पानीको मुहान थुनिएको समस्या समाधान गर्न माग गरिएको छ ।

यस्तै विभिन्न वडामा देखिएको सडक अतिक्रमण बन्द गराइ नाला निर्माण गर्न, किसानले भोग्दै आएको क्षति कम गर्न जमुनिया, बिरनगरा र मदनपुरको सिमानामा अलपत्र अवस्थामा छाडिएको नहरको उचित व्यवस्थापन गर्न, विगतमा सम्पन्न भइसकेका योजनाको अभिलम्ब भुक्तानी गर्न जसपा नेपालले माग गरेको छ ।

जसपा नेपालका नेताहरु नगरपालिका कार्यालयमा पुगेर मेयर रायलाई बुझाएको ज्ञापन पत्रमा १३ बुँदे माग अभिलम्ब सम्वोधन नभए कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ । कविलासी नगरपालिकाले यो आर्थिक वर्ष सुरु भएदेखि बजेट संचालन गर्न सकेको छैन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा खाता संचालन नभएका कारण शिक्षक, कर्मचारीले दशैँमा तलब, भत्ता समेत खान पाएनन् । नगरपालिकाको अवस्था भद्रगोल बन्दै गएपछि जसपा नेपालले पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

Comment


Related News

Latest News

Trending News