अपडेट 
२०८१ कार्तिक २, शुक्रबार ०७:२९

दशैँपछि कार्यालय खुलेकै दिन जिल्ला प्रहरी कार्यालय महोत्तरीले स्रोत नखुलेको ८ लाखसहित एकजनालाई पक्राउ गरेको छ ।

बडा दशैँको बेला सीमावर्ती भारतीय बजारमा नेपालीहरुले भारी मात्रामा लत्ताकपडा, खाद्य सामग्रीहरु नेपाली मुद्रामा खरिद गरेका छन् । भारतीय बजारमा कारोबार भएको नेपाली मुद्रा पूनः नेपाल ल्याउने क्रम पनि सुरु भइसकेको छ ।

प्रहरीले महोत्तरीमा स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको अभियुक्त भारतीय बजारबाट नै ल्याउँदै गरेको बताइएको छ । उनले लुकाई छिपाई राखेको १ हजार दरको ८ सय १ थान र ५ सय दरको ९ थान गरी जम्मा नेपाली ८ लाख ५ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकबाट साहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डिएसपी सन्तुलाल जयसवारले जनाए अनुसार बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा सवार साहलाई शंकाका आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको नगद बरामद भएको हो । पक्राउ परेका साह र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दशैँको क्रममा भारतीय बजारमा कारोबार भएको नेपाली मुद्रा नेपालमा फर्काउने क्रम बढेको छ ।

भारतबाट नेपाली मुद्रा र नेपालबाट भारतीय मुद्राको तस्करी निरन्तर रुपमा हुँदै आएको छ । कहिले काहीँ स्रोत नखुलेको रकमको रुपमा प्रहरीले नेपालमा बरामद गर्ने नेपाली मुद्रा भारतीय बजारबाट तस्करी भएर आउने गरेको छ । भारतीय मुद्राको नेपाली बजारमा मुल्य बृद्धि भएको छ ।हाल प्रति सयकडा भारतीय रुपैयाको खरिद १ सय ६३ मा भइरहेको छ ।

भारतीय बजारमा नेपाली मुद्राको मुल्य सयकडा भारतीय मुद्रा ६० रुपैयामा कारोबार भइरहेको छ । तस्करहरुले नेपालबाट भारतीय मुद्रा लगेर भारतबाट नेपाली मुद्रा ल्याउने गरेका छन् ।मुद्राको तस्करहरु पक्राउ परेपनि भारतीय बजारमा नेपाली मुद्रामा कारोबार निर्वाध रुपमा हुने गरेको छ ।सीमावर्ती क्षेत्रमा चल्ने नेपाली रुपैया तस्करी भएर पुनःनेपालमा आउने गरेको छ ।

नेपालबाट भारतमा जाने नेपाली मुद्रा अबैध हुने गरेपनि व्यवसायिक कारोबारमा कुनै असर भने पर्दैन् ।तर नेपालमा त्यो रुपैया तस्करी भएर फर्किदा स्रोतको अभावमा गैरकानुनी हुने गरेको छ । म्ुद्रा सक्कली रहेपनि स्रोत खुलाउन नसकिने भएकाले प्रहरीले बरामद गर्दै आएको छ ।तर मुद्रा ओसार पसार गर्नेलाइ भरिया कायमगर्दै प्रहरीले मुद्दा कमजोर बनाउने गरेको छ ।

नियमित रुपमा मुद्रा तस्करी हुने गरेपनि तस्करीका मुख्य नाइके सम्म प्रहरी हाल सम्म पुग्न सकेको छैन् । प्रहरीले कायम गर्ने भरिया धरौटीमा रिहा हुने गरेको छ ।भारतबाट हाल सुन तस्करी भएर नेपाल आउने गरेको छ ।त्यसलेपनि भारतीय मुद्राको मुल्य बढाएको छ ।

भारतीय सुन लगायत लत्तकपडा, किराना समानको भुक्तानी हुनुपर्ने भारतीय मुद्रा खुला बजारमा उपलब्ध नरहेकोले भारतीय मुद्राको मुल्य बढेको व्यवसायीहरु बताउँछन् ।उनीहरुले भारतीय मुद्राको मुल्य अझै बढने दावी गरेका छन् ।तर सरकारी स्तरमा भारतीय मुद्राको सयकडा नेपाली १ सय ६० रुपैया नै कायम छ ।

Comment


Related News

Latest News

Trending News