अपडेट 
२०८१ कार्तिक ७, बुधबार ०७:४१

मधेश प्रदेशमा करारमा कार्यरत रहेका चिकित्सकहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । तीन महिनादेखि तलब नपाएको भन्दै मधेश प्रदेशमा करारमा चिकित्सकले स्वास्थ्य मन्त्रालय परिसरमा नाराबाजी गरेका छन् ।

संघीय सरकारले रकम पठाइसके पनि प्रदेश सरकारले निकासा नदिँदा तीन महिनादेखि तलब नपाएको उनीहरूले गुनासो गर्दै आएका छन् । ‘नो पे– नो ड्युटी, कम्पलिट पेन डाउन’ लेखेका प्लेकार्ड बोकेर प्रदेशको स्वास्थ्य मन्त्रालय परिसरमा पुगेका चिकिसकहरूले मधेश प्रदेश सरकार हरायो भन्दै नाराबाजी गरेका थिए ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको लापरबाहीका कारण मधेश प्रदेशमा कार्यरत करिब एक सय छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले तीन महिनादेखि तलव नपाउँदा उनीहरुले सो मन्त्रालय घेराउ गरेका छन् । आन्दोलनरत चिकित्सक डा. पुरुषोत्तम यादवले छात्रवृत्ति करारमा नियुक्त विशेषज्ञ चिकित्सक, मेडिकल तथा नर्सिङ अधिकृतले तलब नपाउँदा चाडपर्वका बेला न्यास्रो लागेको बताए । उनले भने, ‘तीन महिनाको तलब बाँकी राखेको यो पहिलो होइन,’ डा. यादवले भने, ‘मधेसको स्वास्थ्य मन्त्रालयले यसलाई ट्रेन्ड नै बनाएको छ । हरेक पटक आन्दोलन गर्दा मात्र तलब खातामा आउँछ ।’

तलब नपाएका चिकित्सकहरूले अब हरेक महिनाको मसान्तभित्र तलब पठाउने लिखित प्रतिबद्धता नदिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयमा नाराबाजी गरेपछि उनीहरूलाई मन्त्रालयले भने वार्तामा बोलाएको छ । अहिले आन्दोलनरत चिकित्सक र मन्त्रालयबीच वार्ता भए पनि निष्कर्षमा नपुगेको डा. यादवले बताए ।

Comment


Related News

Latest News

Trending News