अपडेट 
२०८१ कार्तिक १०, शनिबार ०७:३७

विशेष अवसरहरुमा विभिन्न देवी देवताहरुको मूर्ति तथा प्रतीक निर्माण गरी पूजाअर्चना गर्नु मिथिलाञ्चलको पुरानो परम्परा हो । हालै सम्पन्न विजया दशमीमा दुर्गा, गणेश, सरस्वतीलगायतका देवी देवताहरुको पूजा अराधना गरेको दृश्यहाम्रो आँखा सामु ताजै होला । आउँदो साता आयोजन हुने काली पूजाका लागि काली, लक्ष्मी, गणेश आदि देवी देवताहरुको प्रतिमा बनाउँन कालिगढहरु तल्लीन छन् । असलमा अमूर्तलाई रूप बिम्बमा कल्पना गरेर बनाइने आकृति मूर्ति हो ।

शिल्पीहरु अमूर्त अदृश्य आकृतिलाई मूर्त रूप दिन्छन् । अक्षरको उत्पति र विकासवारे गहिंरिएर अध्ययन गर्दा अक्षर र लिपिहरु प्नि एक प्रकारका मूर्ति नै हुन् । पछिल्ला समय मूर्ति कलाबारे औपचारिक अध्ययन अनुसन्धान पनि सुरु भएको छ । जसलाई मूर्ति शास्त्र वा प्रतिमा शास्त्र भनिन्छ । प्राण प्रतिष्ठा गरिएका मूर्ति अर्थात् पूजा गरिने मूर्तिलाई प्रतिमा भनिन्छ ।आज देवी देवताको जुन स्वरुप हामी देख्छौं, त्यो काल्पनिक हो ।

जसको स्रष्टा मूर्तिकारहरु अर्थात् मानिसहरु हुन् । मिथकहरुमा देवी देवताले मानिस बनाएको भनिए पनि देवी देवताहरुको स्वरुपको परिकल्पना र निर्माण मानिसले नै गरेका हुन् । यस अर्थमा मानिसले देवी देवता गढेका हुन् । मध्यकालीन साहित्यहरुमा पनि केही देवताका स्वरुपको चित्रण पाइन्छ जो पछि शिल्पीहरुको कल्पनाको आधार बनेका हुन सक्छन् । तर, मिथिला समाजमा यत्रतत्र सर्वत्र हुने मूर्ति पूजाको उल्लेख सनातनीहरुको आदिग्रन्थ वेदमा भने पाईदैन ।

वेदमा मूर्ति पूजाको नभइ प्रकृति पूजाको विधान छ । पूजा पाठको नभइ होम, हवन र प्रार्थनाको प्रावधान छ ।आदि मानव प्रकृति पूजक थिए । प्रकृति जसलाई आदि मानवहरु आफ्नै आँखाले देख्न सक्थे । कानले सुन्थे अनि शारीरिक रुपले अनुभव गर्थे । वेदमा सूर्य, वायु, अग्नि, पानी (ईन्द्र) आदिलाई देवी देवताको रुपमा उल्लेख पाइन्छ ।

यजुर्वेदमा उल्लेख छ– ‘स पर्यगात् शुक्रं अकायं अव्रणं अस्नाविरं शुद्धं अपापविद्धम् । कविर्मनीषि परिभू स्वयंभू र्याथातथ्यतो । व्यदधाच्छाश्वतीभ्यः समाप्तः ।’ अर्थात् जुन परमेश्वर सर्व व्यापक आदि विशेषण युक्त छ, जो अकायं अर्थात् शरीर रहित छ । अव्रणं अर्थात् छिद्र रहित छ । अस्नाविरं अर्थात बन्धनमुक्त छ । त्यो मूर्तिको रुपमा कैद हुनै सक्दैन । वेद भन्छ– ‘न तस्य प्रतिमा अस्ति यस्य नाममहद्यशः ।’ अर्थात् त्यो महान यश कीर्ति भएका ईश्वरको कुनै प्रतिमा हुदैन । हो, पुराण तथा ब्राह्मण ग्रन्थहरुमा देवी देवताको नाममा दान दक्षिणा आदि लिने प्रयोजनका लागि मूर्ति पूजाको विधान भने राखिएको पाइन्छ ।

सुरुमा वास्तु र खगोल शास्त्रका जानकारहरुले वास्तु र खगोल सम्बन्धी मूर्तिहरु बनाएका थिए । केहीले भने आफ्ना पूर्वजहरुका मूर्ति बनाए । अनि केहीले कुल देवता तथा ग्राम देवताहरुको काल्पनिक मूर्ति बनाए । तर भारतीय उपमहाद्वीपमा मूर्ति पूजाको संस्थागत थालनी भने बुद्ध र महावीरका शिष्यहरुले गरेका थिए ।

यद्यपि बुद्ध स्वयं मूर्ति पूजाका विरोधी थिए, तर उनको महानिर्वाण पश्चात् उनका शिष्यहरुले बुद्धका अनेकाँै प्रतिमा निर्माण गरे । महावीरका शिष्यहरुले पनि अनेकाँै प्रतिमा बनाए । प्रतिमाहरुको सुरक्षा तथा ध्यान र प्रार्थनाका लागि बौद्ध, स्तूप तथा आश्रमहरु बनाए । मूर्ति बुद्ध र महावीरको निर्माण गरिए पनि यसमा पूजा, अर्चना र ध्यान गर्न हिन्दुहरु पनि जाने गर्थे । अनि देखासिकी हिन्दुहरुले पनि राम, कृष्ण आदि देवी देवताका मूर्ति बनाउँन थाले ।

मूर्ति व्यवस्थापन तथा ध्यान र प्रार्थना गर्ने उद्देश्यले मन्दिरहरु बनाए । स्मरणीय के पनि छ भने त्यतिबेलाका मन्दिरहरु पूजा पाठका लागि नभई ध्यान र प्रार्थनाका लागि निर्माण गरिएका थिए । पछि त्यहाँ पनि पण्डित पुजारीको प्रवेश भयो । दान दक्षिणा एवं मठ मन्दिरहरुको नाममा सम्पति जम्मा गर्ने क्रम सुरु भयो । असलमा मूर्ति पूजा भनेको प्रतीक पूजा हो ।

हिन्दुहरुदेवी देवताको प्रतीक मूर्तिको रुपमा बनाउँछन । मुसलमानहरु मूर्ति पूजा नगरे पनि मस्जिदहरुमा एउटा स्थान विशेषलाई प्रतिकको रुपमा स्थापित गरेर इवादत गर्छन् । अन्य धर्महरुमा पनि कमोवेश प्रतीक पूजा गर्ने चलन छ । तर मिथिलाञ्चलमा मूर्ति पूजाको भावात्मक पक्ष पनि उजागर हुन्छ ।

भूमिबाट सीता जन्मेको मिथिला भूमिमा सीता जस्तै दुर्गा, सरस्वती, लक्ष्मी, काली आदि देवीहरुलाई चेली बेटीको रुपमा स्नेह गर्ने चलन छ । विधिवत निम्तो दिएर आमन्त्रित गरिन्छ । आगमनको अवसरमा सोहर र बधैया गाएर हर्ष बधाई गरिन्छ । सुस्वादु प्रसाद अर्पण गरिन्छ, अनि विदाईको बेला करुण रसको समदाओन गाएर विदा गरिन्छ । तर पछिल्लो पटक मिथिलाञ्चलको त्यो भावात्मक पक्ष देखिन छाडेको छ । युवा क्लबहरुले दुर्गा पूजा, काली पूजा, सरस्वती पूजा तथा कृष्णाष्ठमी जस्ता मूर्ति पूजा हुने अनुष्ठानहरुलाई पनि महोत्सवको रुप दिन थालेको छ ।

Comment


Related News

Latest News

Trending News