अपडेट 
२०८१ कार्तिक १०, शनिबार १५:५३

रौतहटस्थित जयकिसान मावि धरहरिका प्रधानाध्यापक सञ्जय प्रसाद साहको सरुवाको विषयमा विद्यार्थी उचालेर देवाही गोनाही नगरपालिकाको कार्यालय र मेयर प्रेमलाल साहको घरमा तोडफोड घटनामा संलग्न १० जना माथि मुद्दा दायर गरिएको छ। घटनाका मुख्य योजनाकार पनि पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको लामो समयको अनुसन्धान पछि तोडफोड गर्ने गराउने १० जना माथि मुद्दा दायर गरेको हो। घटनाको मुख्य योजनाकार भनिएका आमजनता पार्टीका नेता राजेश कुमार साह पक्राउ परेका छन्। उनलाई विशेष सूचनाको आधारमा गए राती घरमै छापा मारेर प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार पक्राउ परेका साह विरुद्ध सम्पूर्ण प्रमाणहरू छन्। उनको बयान र थप अनुसन्धानपछि अरु संलग्न को-को छन् भन्ने खुल्ने एसपी घिमिरेले बताएका छन्। तत्काल अनुसन्धानको लागि केही अभद्र मुद्दा दर्ता हुने र अनुसन्धानपछि दोषको आधारमा अर्को मुद्दा दायर गरिने एसपी घिमिरेले जानकारी दिएका छन्।

गत असोज ८ गते देवाही गोनाही नगरपालिकामा मेयर प्रेमलाल साहको अध्यक्षतामा नगर शिक्षा समितिको बैठक बसिरहेको थियो। सोही क्रममा जय किसान माविका प्रधानाध्यापक सञ्जय प्रसाद साहको सरुवा अन्य विद्यालयमा गरेको भनेर दर्जनौँ विद्यार्थी नगरपालिकामा पुगेका थिए । विद्यार्थीहरूले मेयर साहविरुद्ध नाराबाजी गर्दै नगरपालिकाको अगाडि टायर बालेर केही समय विरोध प्रदर्शन गरेका थिए ।

सोही क्रममा विद्यार्थीहरूले ढुंगामुढा प्रहार गरी नगरपालिकाको सम्पूर्ण झ्यालका सिसा, नजिकै रहेको  जेसीभी र अस्पताल परिसरमा रहेको एम्बुलेन्सको समेत सम्पूर्ण सिसा फुटाएका थिए। ढुंगामुढाबाट त्यहाँ सुरक्षामा खटेका तीन जना प्रहरी घाइते भएका थिए।

शिक्षा समितिको बैठक चलिरहेकोमा विद्यार्थीहरूको आक्रमणपछि बैठक स्थगित गरिएको थियो । साथै कसैको सरुवा नभएको सूचना समेत प्रकाशित गरेको थियो।

मेयर प्रेमलाल साहले पूर्वाग्रहबाट प्रेरित भएर वडा अध्यक्ष वीरबहादुर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भन्ने श्यामनन्दन साह, आजपा नेता राजेश कुमार साह लगायत मानिसहरूले व्यक्तिगत स्वार्थका लागि विद्यार्थीहरूलाई उचालेर घटनालाई भड्काएको दाबी गरेका थिए ।

प्रदर्शन पछि विद्यार्थीहरू मेयर साहको घरमा पनि पुगेर ढुंगामुढा गरेका थिए । उक्त घटनामा करिब ७३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको मेयर साहले  दाबी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News