अपडेट 
२०८१ कार्तिक १०, शनिबार १५:५९

सर्लाहीको हरिपूर्वामा एक भारतीय युवकको बीभत्स ढङ्गले हत्यागरी फरार रहेका युवक डेढ वर्षपछि पक्राउ परेका छन् ।

भारतीय नागरिक २६ वर्षीय शेखर सुमन भन्ने सिकु कुमारलाई धारिलो हतियारले घाँटी काटेर हत्या गरेको अवस्थामा २०८० वैशाख २६ गते हरिपूर्वा नगरपालिका–१, स्थित अनरजित महराको खेतमा शव फेला परेको थियो ।

सो घटनामा संलग्न भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना पुरनदाहा ग्रामपञ्चायत राजवाडा बस्ने २७ वर्षीय धर्मेन्द्र रायलाई प्रहरीले डेढ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

उनलाई मलङ्गवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमानजिक गोरखकालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार सिकुकुमारको हत्यामा छ जना संलग्न रहेको खुलेको छ ।

तीमध्ये यसअघि एक जना पक्राउ परेका थिए । चार जना अझै फरार नै रहेको र उनीहरूको खोजी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

एसपी सिंहका अनुसार पक्राउ परेका धर्मेन्द्रले नै सिकु कुमारलाई मोटरसाइकलमा हालेर सीमावर्ती क्षेत्रनजिक पर्ने हरिपूर्वा ल्याएर छजना मिलेर हत्या गरेका थिए । धर्मेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

Comment


Related News