अपडेट 
२०८१ कार्तिक ११, आईतवार १८:४९

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाण्डाै, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा निःशुल्क उपचार हुने भएको हो ।

आउँदाे मङ्सिर १ गतेदेखि निर्णय लागू हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नुभएको थियो ।

सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक स्राेतबाट व्यवस्थापन गरिने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएका पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News