अपडेट 
२०८१ कार्तिक २०, मंगलवार ०७:२१

भारतबाट सुन तस्करी बढेसंगै सीमावर्ती बजारमा भारतीय रुपैयाँको मूल्य अप्रत्यासित रुपमा बढेको छ ।

भारतीय बजार भिठ्ठामोड, सीतामढी, मधवापुरलगायतका बजारमा भारतीय १ सय रुपैयाँको सामान लिन नेपाली १ सय ६६ रुपैयाँ दिनु परिरहेको उपभोक्ताहरु बताउँछन् । कोरोना भाइरसको महामारीको बेला भारतीय रुपैयाँको मुल्य सयकडा १ सय ६५ रुपैयाँ नेपाली पुगेको थियो । अहिले भारतीय रुपैयाँको मूल्य वृद्धिको कारण भारतबाट भइरहेको सुन तस्करीलाई मानिन्छ ।

सीमावर्ती बजारमा कपडा पसलमा सामान दरमा नै किनमेल भए पनि किराना, कस्मेटिकलगायतका पसलहरुमा ६ रुपैयाँ बढी लिने गरिन्छ । भारतीय रुपैयाँ प्रति सयकडा ६ रुपैयाँ तेज भएसंगै खाद्य सामग्रीलगायतका मालसामानहरुको मूल्यमा स्वभाविक रुपमा भारी वृद्धि भएको छ । कपडाको मूल्य व्यवसायीहरुले नै निर्धारण गर्ने भएकाले उपभोक्ताले थाहा नपाउने गरी मूल्य थप गरेका हुन्छन् । तर किराना पसलको समानमा एमआरपी उल्लेख गरिएकाले बढाउन मिल्दैन ।

कपडामा बट्टा नकाटिए पनि बट्टा भने लिने गरेको व्यवसायीहरु स्वीकार छन् । कम्पनीबाट नै मूल्य उल्लेख भएको सामानमा सयकडा ६ रुपैयाँ बट्टा लिने गरेको छ । बट्टाको कारण उपभोक्ताहरु ठगिने गरिएका छन् । बट्टा दिन नचाहने उपभोक्तालाइ थाहै नपाउने गरी मूल्य वृद्धि गरी सामान बेच्ने गरिन्छ ।

स्रोतका अनुसार धनुषा र महोत्तरी जिल्ला सुन तस्करीको ‘हब’ बनेको छ । भारी परिमाणमा नियमित रुपमा सुन, चाँदी तस्करी भइरहेकोले यस भेगमा भारतीय रुपैयाँको अभाव भएको छ । राजमार्ग भएर नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरुसित तस्करहरुले सीमाक्षेत्रमा नै मुद्रा साट्ने गरेका छन् ।

नेपालमा भारतीय १ सय दरको नोट मात्र वैध छ । तर भारतीय पर्यटकहरुले ५ सय दरको भारतीय रुपैयाँ बोक्ने गरेकाले सीमामा अनेक भयत्रास देखाएर न्ेपाली रुपैयाँसित साट्ने गरिएको छ । भारतीय रुपैयाँको मूल्य बढेको कारण नेपाली सीमा क्षेत्रमा मुद्रा साट्ने अवैध धन्धा निकै फस्टाएको छ । नेपालीहरु भारतीय बजारमा कारोबार गर्न जाँदा सीमाक्षेत्रमा भारतीय रुपैयाँ सटही गर्छन् । भारतीय बजारमा सटही गर्ने भन्दा सीमावर्ती नेपाली भू–भागमा नै साटेर जाने गरेका छन् ।

भारतको सीमावर्ती बजारमा नेपाली मुद्रा बट्टा काटेर लिने गरेपनि १० किलोमिटर भित्रको बजारमा प्रायःनेपाली रुपैया लिन बन्द गरिएको छ ।तर मालसमान सस्तो भएकाले उपभोक्ताहरु बट्टा दिएर भारतीय रुपैया लिएर कारोबार गर्न जाने गरेका छन् । भारतीय सीमावर्ती बजारमा नेपाली मुद्रामा बट्टा दिएर कारोबार भएपनि नेपाली रुपैया पुन: तस्करी भएर नेपाल आउने गरेको छ ।रुपैया सक्कली रहेपनि नेपाली बजारमा ल्याउने क्रममा प्रहरीले वाहक समेतलाई पक्राउ गर्छन् ।

रुपैयाको स्रोत बैध नभएकाले त्यस्ता रुपैया प्रहरीले बरामदगरि जफ्त गर्छन् । नेपालबाट भारतमा तस्करी भएर जाने क्रम रोकिएकोले भारतीय मुद्राको नेपालमा अभाव भएको बताइन्छ ।भारतबाट सुन, चाँदी तस्करी भएर नेपाल आइरहेपनि नेपालबाट सुपारी, केराउ, मरिच, गाँजा , रक्सीको तस्करी हाल रोकिए जस्तै भएको एकजना व्यवसायीले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।‘नेपालबाटपनि तस्करी भएर मालसमान भारतीय बजारमा जाँदा मुद्राको सन्तुलन कायम रहने गरेको छ ’ उनले भने, तर अहिले महँगो मुल्य पर्ने सुन, चाँदी नै भारतबाट आइरहेकोले मुद्राको सन्तुलन बिग्रेको छ ।

नेपाली मुद्राको अबैध अवमुल्यन र तस्करी बढेको कारण नेपाली बजारमा कारोबार निकै प्रभावित भएको व्यवसायीहरु बताउँछन् ।दसैं, तिहारको बेलापनि किराना पसलहरुमा अपेक्षाकृत कारोबार नभएको व्यवसायीहरुको दुखेसो छ । सीमावर्ती नेपाली बजारमा भारी समस्या देखिएको व्यवसायीहरुको कथन छ । सरकारले भन्सार दर कम गर्नुपर्ने अथवा तस्करीलाई पूर्ण नियन्त्रण गर्नुपर्ने उनीहरुको माग छ ।

Comment


Related News